
नेपाल-भारत मैत्री संगठनले गर्न लागेको 'दोस्रो अन्तर्राष्ट्रिय नेपाल- भारत मैत्री सांस्कृतिक संगम'को लोगो सार्वजनिक गरेको छ ।
मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहले शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रमका बिच लोगो सार्वजनिक गरेका हुन् ।
लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतबिचको जनस्तरको सम्बन्धलाई थप सुमधुर बन्न मद्दत पुग्ने बताए ।
लोगोमा दुवै देशको झन्डासहित 'देश भेष भाषा अनेक फिर भी संस्कृति एक' भन्ने स्लोगन उल्लेख गरिएको छ । साथै लोगोमा भगवान् श्रीकृष्णको नगरी वृन्दावन प्रतिबिम्बित हुने मयूरको प्वाँख र बाँसुरीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
तीन दिनसम्म चल्ने सांस्कृतिक संगम कार्यक्रम आगामी पुस २१ देखि सुरु हुने छ । नेपाल र भारतका गरी करिब पाँच सय जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने उक्त कार्यक्रममा नेपाल भारत मैत्री कन्क्लेभ मार्फत दुई देशका जनताका सरोकारसँग सम्बन्धित चार वटा कार्यपत्र माथि छलफल गरिने संगठनका नेपाल प्रभारी अर्चना सिंहले जनकारी दिइन् ।