०३ साउन २०८३, आइतबार

खेतीयोग्य बाँझो जग्गामा व्यावसायिक खेती गर्न अनुदान

मंसिर ८, २०८०
कैलाली
खेतीयोग्य बाँझो जग्गामा व्यावसायिक खेती गर्न अनुदान

बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने किसानलाई सुदूरपश्चिम प्रदेश सरकारले जग्गाको भाडामा अनुदान दिन लागेको छ । 

जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो । बाँझो रहेको जग्गामा खेती गर्न चाहनेलाई तोकिएको वार्षिक भाडा रकममा अनुदान दिन लागिएको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । 

 हाललाई व्यक्तिगत बाँझो जग्गा नभई बाँझो रहेको सरकारी र सार्वजनिक जग्गामा यो कार्यक्रम कैलाली सहित प्रदेशका सबै जिल्लामा कार्यान्वयन हुन लागेको छ । शर्माले भने, “पहिलो वर्षका लागि तोकिने जग्गाको भाडा रकममा विपन्न किसानको हकमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ, विपन्नबाहेक अन्यको हकमा तोकिने भाडा रकमको ५० प्रतिशत भाडा रकम अनुदान दिने व्यवस्था छ ।”

  जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्नेले पहिलो वर्ष पाउने अनुदान रकम दोस्रो वर्षदेखि क्रमशःघट्दै जाने बताइएको छ । समुदाय, कृषि सहकारी, व्यक्ति, फर्म, उद्यमीले यो कार्यक्रममा सहभागी हुन पाउने बताइएको छ ।  सरकारी र सार्वजनिक जग्गामा व्यावसायिक खेती गराउन भाडामा दिइने जग्गाको अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिए पनि प्रदेशमा यस्तो जग्गा कति छ भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।

salt training

कमेन्ट गर्नुहोस्