२३ असार २०८३, मंगलबार

इजरायलद्वारा हमासले रिहा गरिएका बन्धकको सूची सार्वजनिक

मंसिर ९, २०८०
काठमाडौं
इजरायलद्वारा हमासले रिहा गरिएका बन्धकको सूची सार्वजनिक

तेल अविव– इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर शुक्रवार रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । 

इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ । 

अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो ।

‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ । इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी  गराएका छन् ।’  

इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ ।

घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर (५४) र ओहद मोन्डर (९) रहेका छन् ।

उनीहरूबाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो।

रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि शुक्रवार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तरराष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले  उल्लेख गरेको छ ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रवार बिहान ७ बजे (स्थानीय समय)बाट लागू भएको थियो ।

शुक्रवार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सोशल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर)मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भनेका छन्, ‘हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरूः बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौं ।’

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको सशुरुवात’ भनेका छन् । उनले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन् ।

टाइम्स अफ इजरायलले उल्लेख गरेअनुसार  प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ ।

यद्यपि गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो सङ्ख्या मात्र हो ।
 

salt training

कमेन्ट गर्नुहोस्