
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले संयुक्त भेटघाट गरेका छन् ।
मंगलवार गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रदेशमा प्रहरी समायोजन प्रक्रियालाई छिटो टुङ्गो लगाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले सरकार संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन र कार्यविधि तय गर्न लागिरहेको बताए । साथै उनले प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘वर्तमान सरकारले नै प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउँछ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘हतपतमा नगरौँ, राम्रो गरौँ । राम्रो गर्दा ढिलो नगरौँ ।’
भेटघाटका क्रममा बागमती प्रदेशका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, मधेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिम र लुम्बिनीका गृह, सञ्चार तथा कानूनमन्त्री सन्तोषकुमार पाण्डे सहभागी थिए ।
यस्तै कर्णालीका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गण्डकीकी ऊर्जा, जलश्रोत तथा खानेपानी (प्रतिनिधि) मन्त्री सरस्वती अर्याल तिवारी र – कोशीका गैरविभागीय (प्रतिनिधि आन्तरिक मामिला तथा कानून) मन्त्री शमशेर राई पनि सहभागी थिए ।

