२९ जेठ २०८३, शुक्रबार

खेलाडीको उर्वरभूमि कन्चनपुर, प्रशिक्षकबिनै क्रिकेटमा अब्बल खेलाडी उत्पादन

मंसिर १३, २०८०
कञ्चनपुर
खेलाडीको उर्वरभूमि कन्चनपुर, प्रशिक्षकबिनै क्रिकेटमा अब्बल खेलाडी उत्पादन

राष्ट्रिय खेलकुद परिषद्‍बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । क्रिकेटका पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवी प्रशिक्षकका रूपमा काम गरेकै भरमा कन्चनपुरमा प्रतिभावान् खेलाडी उत्पादन भइरहेका छन् । 

पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रिय खेलाडीहरूले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७  विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन ।

कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम सार्की र विनोद भण्डारीजस्ता अन्तराष्ट्रिय रूपमै परिचित खेलाडीको गृहजिल्ला कञ्चनपुरमा क्रिकेटको भौतिक संरचनाको अवस्था सामान्य भए पनि गतिविधिले भने बढावा पाएको उनको भनाइ छ ।

सुदूरपश्चिमको नौ  जिल्लामध्ये कञ्चनपुर क्रिकेट उत्पादनको केन्द्रका रूपमा परिचित पनि छ । हाल महेन्द्रनगरमा क्रिकेट सङ्घको समन्वयमा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा खेलाडी उत्पादन गरिरहेका छन् । सङ्घका अध्यक्ष चन्दले विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता सङ्घसित समन्वयमा भइरहेको जानकारी दिए।

'क्रिकेटको चर्चापछि पनि यहाँ खेलप्रतिको आर्कषण बढ्नुका साथै सबैतिर पालिकाको समन्वयमा गतिविधि बढेका छन्,' अध्यक्ष चन्दले भने, 'नौवटै पालिकामा स्थानीय तहसँगको समन्वयमा क्रिकेट प्रशिक्षणलाई अगाडि बढाउने गरीसमेत योजना बनाएका छौँ ।'

जिल्ला खेलकुद विकास समितिको परिसरमा क्रिकेट मैदान निर्माणको काम चालु आर्थिक वर्षमा भने अघि बढ्न सकेको छैन । सङ्घका अध्यक्ष चन्दले रातो किताबमा परेको क्रिकेट मैदानलाई अघि बढाउन चालु आवमा सरकारले बजेट विनियोजन नगरेको गुनासो गरे ।

'जिल्लामा अन्यत्र पनि केही ठाउँमा क्रिकेट मैदान बनाउने सुरसार देखिए पनि सदरमुकामको निर्माणाधीन मैदान अलपत्र छ,' उनले भने, 'क्रिकेटप्रति नयाँ खेलाडीको आर्कषणलाई पनि हामीले ध्यान दिएर सोहीअनुसार संरचना निर्माणदेखि खेलकुद सामग्रीको व्यवस्थापन गर्नुछ ।'

चीनमा सम्पन्न १९औँ एशियाली खेलुकदमा टी–२० किक्रेटमा कञ्चनपुरका खेलाडी दीपेन्द्रसिंह ऐरीले मङ्गोलियाविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान बनाएका थिए । ऐरी हाल नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुन् । गत भदौमा नेपालका तर्फबाट एशियन कपमा भारत र पाकिस्तानसित उत्कृष्ट प्रदर्शनपछि पनि मुलुकमा क्रिकेटको माहोलले बजार पाएको बुझाइ छ ।

अध्यक्ष चन्दका अनुसार महेन्द्रनगरमा अहिले वडास्तरीय क्रिकेट प्रतियोगिता जारी छ । बेदकोट, कृष्णपुरको गुलरिया, पुर्नर्वासमा समेत सङ्घसँगको समन्वयमा क्रिकेट आयोजना भएको उनले बताए ।

त्यसका साथै वडा कार्यालयको अग्रसरतामा शुक्लाफाँटा नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ मा समेत ठूलो धनराशिको क्रिकेट आयोजना भइसकेको छ । 'नेपाली जुनियर र सिनियर टिममा सुदूरपश्चिमको उपस्थिति राम्रै रहँदै आएको छ,' अध्यक्ष चन्दले भने, 'खेलाडीको उर्वरभूमि भए पनि मलजल राज्यबाट भएन ।'

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर जिल्लाले अहिलेसम्म पनि केन्द्रबाट क्रिकेट प्रशिक्षक नपाएको बताए । 'राष्ट्रिय खेलकुद परिषद्बाट हामीले अहिलेसम्म क्रिकेट प्रशिक्षक देख्न नपाए पनि राज्यका लागि प्रतिभावान् खेलाडी दिइरह्यौँ,' उनले भने, 'तर यहाँका सिनियर खेलाडीले लामो समय स्वयंसेवक प्रशिक्षक भएर खेलाडी उत्पादनलाई निरन्तरता दिनुभयो ।'

कञ्चनपुरमा हाल विभिन्न खेलका १७  प्रशिक्षक कार्यरत छन् भने ३१  सङ्घ दर्ता छन् । पछिल्लो समय यहाँ स्थानीय तह र वडा कार्यालय नै अग्रसर भएर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्