
चितवनमा २ वटा गैँडालाई धरापमा पारेर मार्ने ९ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) उनीहरूलाई बुधवार पक्राउ गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्चका प्रवक्ता गणेशप्रसाद तिवारीले पक्राउ परेको पुष्टि गरे । ‘हामीले सबै डिटेलमा बिहीवार २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं,’ तिवारीले लोकान्तरसँग भने ।
प्रहरीले मकवानपुर घर भएका ४७ वर्षीय शमशेर थिङ, रोल्पा घर भएका २७ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका– ११ घर भएका ४३ वर्षीय आइतसिंह मोक्तान उर्फ पासाङ, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सीताराम थिङ र धनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएका भीम तामाङ र उनसिंह स्याङ्तान गैँडा शिकारी हुन् । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चप्परचुली पोस्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा धराप बनाएर गैँडा मारेको प्रहरीको अनुसन्धानबाट देखिएको तिवारीले लोकान्तरलाई बताए ।