
इस्लामाबाद– पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधवार खारेज गरिदिएको छ ।
आगामी फेब्रुअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा रहेका भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका शरिफ अहिले जमानतमा छन् भने उनका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा रहेका छन् ।
‘मैले सबै मामिला अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,’ शरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भने ।
इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपिल गरेका छन् ।
शरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उनलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो ।
तीन पटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका शरिफले यो आरोप राजनीतिक प्रर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन् ।
पाकिस्तानको सैन्य प्रतिष्ठानसँग उनका सम्बन्धमा वृद्धि भएसँगै उनको राजनीतिक भाग्य पुनः उदय भएको छ पाकिस्तानको सैन्य प्रतिष्ठानले पाकिस्तानको इतिहासको आधाभन्दा बढी समय प्रत्यक्ष रूपमा शासन गरेको र असीम शक्तिको आनन्द लिइरहेको छ ।
राजनीतिक विश्लेषक हसन अस्करीले भने, ‘अब सबै कुरा नवाज सरिफको पक्षमा अघि बढिरहेको छ ।’
‘यो शक्तिशाली व्यक्तित्व र संस्थाहरूद्वारा सञ्चालित राजनीतिक खेल जस्तो देखिन्छ,’ उनले एएफपीसँग भने, ‘खानको सेनासँगको शानदार सम्बन्ध विच्छेद हुनु शरिफको भाग्य परिवर्तनको अवसर बनेको छ ।’
पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका प्रसिद्ध पूर्वकप्तानसमेत रहेका खानलाई अर्को वर्ष हुने निर्वाचनमा प्रतिस्पर्धाबाट रोक्नको लागि योजना बनाइएको भनिने धेरै मुद्दामा जेल चलान गरिएको छ ।
नवाज सरिफका कान्छा भाइ शहबाज शरिफ खानलाई सत्ताच्युत गर्दै विपक्षी दलहको गठबन्धनको नेतृत्व गरी पाकिस्तानको सत्तामा आएका थिए ।
त्यो सरकारले कानूनमा परिवर्तन गर्दै सांसदहरूलाई चुनाव लड्न अयोग्य ठहरिने प्रावधानलाई पाँच वर्षसम्म सीमित गर्यो र शरिफको पुनः आगमनका लागि मार्ग प्रशस्त गर्यो ।