
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित महिलामाथि हुने हिंसाविरुद्ध उजुरी दर्ता हुन नसकेको बताएका छन् ।
दलित महिला सङ्घ नेपालद्वारा आज आयोजित ‘दलित महिला तथा बालिकामाथि हुने हिंसाको अवस्था अध्ययन प्रतिवेदन’ सार्वजनिकीकरण तथा अन्तरक्रियामा अध्यक्ष विश्वकर्माले दलित महिलाविरुद्धका हिंसा कहाली लाग्दो भए पनि सम्बन्धित निकायमा सोहीअनुरुप उजुरी दर्ता हुन नसकेको बताएका हुन् ।
“समाजमा दलित महिला विरुद्धका हिंसा कहालिलाग्दो छ । हिंसाबाट पीडित तथा प्रभावित कतिपय दलित महिला आफ्नो सम्मान, प्रतिष्ठा खस्कन्छ भन्ने मानसिकताले उजुरी दर्ता गरेका छैनन् । पीडितले उजुरी दर्ता गर्न सक्ने वातावरण छैन”, उनले भने ।
महिला हिंसा मात्र नभई हिंसाको स्वरूपमा वर्गीकरण गरी सम्बन्धित निकायलाई हिंसा न्यूनीकरणमा पहल गर्न सबैले जिम्मेवार बनाउनुपर्नेमा अध्यक्ष विश्वकर्माले जोड दिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मात्र नभई अन्य दिनमा पनि हिंसा विरुद्धका जनचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।