
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको छ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गरे ।
नेपाल प्रहरीलाई प्रदेश सरकार मातहतमा ल्याउन सङ्घर्ष जारी रहेको उनले बताए । उनले कसैको सिफारिस विना पीडितले न्याय पाओस् भन्ने किसिमले प्रदेशमा काम गर्नका लागि प्रहरी अधिकारीलाई आग्रह गरे । प्रदेशको आठ वटै जिल्लाको सदरमुकाममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सिसिटिभी जडान गरिने उनको भनाइ छ ।
उनले अहिले पनि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मधेस प्रदेश प्रहरीलाई सहयोग गरिरहेको भन्दै प्रहरी प्रदेश सरकारको मातहतमा आएपछि मधेस सरकारको प्रहरी सबैभन्दा सबल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता एवं प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले प्रदेश सरकारको धेरैजसो बजेट त्यतिकै फ्रिज हुने गरेको भन्दै त्यस्ता बजेटलाई प्रशासनिक पूर्वाधार निर्माणमा खर्चिन सल्लाह दिए । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले भाडाको घरमा अहिले कार्यालय सञ्चालन भइरहेको भन्दै निर्माण हुने उक्त प्रशासनिक कार्यालय भवनले कामकाज गर्नमा सहजता हुने धारणा राखे ।
रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण हुन लागेको उक्त प्रशासनिक कार्यालय भवनको निर्माण शिवालय सुवेदी जेभी काभ्रेले १८ महिनाभित्रमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।