
ह्वावेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहत सामग्री प्रदान गरेको छ ।
कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँगको सहकार्यमा पाल, कम्बल, स्लिपिङ्ग ब्यागलगायतका सामग्री भूकम्प प्रभावितलाई प्रदान गरेको हो ।
ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता, सान्त्वना, आधारभूत आवश्यकता पूरा गर्नका लागि केही राहत पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको छ ।
ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाई राखेको जनाएको छ ।
राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले सञ्चार पूर्वाधारहरू सञ्चालन, उद्धार र राहतका लागि समन्वय गर्न ह्वावे प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन ह्वावे सधैं अग्रगामी भूमिकामा रहेको उनको भनाइ छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको दूरसञ्चार क्षेत्रमा ह्वावेले गरेको योगदानको प्रशंसा गरिन् । जाजरकोटमा सहयोग गर्न ह्वावेले गरेको प्रतिबद्धता सकारात्मक भएको उनको भनाइ थियो ।