०५ साउन २०८३, मंगलबार
विधानसभा चुनाव

भारतका तीन राज्यमा भाजपालाई 'प्रचण्ड बहुमत', आगामी लोकसभामा 'ह्याट्रिक' गर्ने मोदीको दाबी

मंसिर १८, २०८०
काठमाडौं
भारतका तीन राज्यमा भाजपालाई 'प्रचण्ड बहुमत', आगामी लोकसभामा 'ह्याट्रिक' गर्ने मोदीको दाबी

दुई कार्यकाल भारतको केन्द्रीय शासनमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले प्रमुख तीन राज्यको विधानसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेको छ । आइतबार आएको नतिजाअनुसार भाजपाले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको हो । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कंग्रेस विजयी भएको छ ।

भारतमा आगामी वर्ष केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावलाई सेमिफाइनलका रूपमा हेरिएको छ । परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने विश्लेषण हुन थालेको छ ।

हिन्दी भाषी तीन राज्यमा प्रचण्ड बहुमतका साथ चुनाव जितेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ को लोकसभा चुनावमा पनि 'ह्याट्रिक' गर्ने दाबी गरेका छन् । 'बीजेपीले कंग्रेसको पन्जाबाट खोसेर दुई राज्यमा विजय हासिल गरेको छ । मध्य प्रदेशमा दुई दशक गरेको शासनले निरन्तरता पाएको छ,' जितपछि मोदीले भनेका छन्,'यो जितले सन् २०२४ को ह्याट्रिक सुनिश्चित गरेको छ ।'

भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन् । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन् ।

तीन राज्यमा चुनाव जितेसँगै अब भारतको ५८ प्रतशत इलाकामा भाजपा शासन हुने भएको छ । यसकै आधारमा आगामी लोकसभा चुनावमा पनि भाजपा नै दोहोरिने संकेत गरेको भारतीय सञ्चार माध्यमहरूले गरेका छन् ।

यी राज्यहरूमा लोकसभा सीटको राम्रो संख्या छ । मध्य प्रदेशमा २९ लोकसभा सिट, राजस्थानमा २५ सिट, छत्तीसगढमा ११ सिट, तेलंगानामा १७ सिट र मिजोरममा एउटा मात्र सिट छ । यी राज्यमा आउको नजिताले आगामी चुनावलाई प्रभाव पार्ने आकलन छ । तर, यी राज्यहरूको विधानसभा र लोकसभा चुनावको ढाँचालाई हेर्दा सधैं परिवर्तन भएका पनि छन् ।

मिजोरमको चुनावी नतिजा भने एक दिन पछि सारिएको छ। मिजोरम विधानसभा चुनावको नतिजा आज आउनेछ।
भारतीय सञ्चार माध्यमहरूको सहयोगमा
 

salt training

कमेन्ट गर्नुहोस्