
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन् ।
हाल उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको उनको सचिवालयले जनाएको छ ।
श्रेष्ठको 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ । डा. अरुण मास्केसहितको चिकित्सक टोलीले केही राति नै 'एन्जियोप्लास्टी सर्जरी' गरेको हो ।
आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।