१२ असार २०८३, शुक्रबार

सरकारको ध्यान समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छ : प्रधानमन्त्री प्रचण्ड

मंसिर २०, २०८०
काठमाडौं
सरकारको ध्यान समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छ : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राखे । 

'साना साना कामहरूमा सुधार गरेर ठूला लक्ष्यलाई सहयोग पुग्नेगरी काम गर्न जरुरी छ । हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्नेमा सुधार गर्नु जरुरी छ । जनताले यो वाद र त्यो वादभन्दा पनि सेवा प्रवाहमा सुधारको अपेक्षा राख्छन् । जनताले प्रत्यक्ष रुपमा सेवा प्रवाहको अनुभूत गरेन भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रप्रति पनि भरोसा कमजोर हुँदै जान्छ,' प्रधानमन्त्री प्रचण्डले भने ।

तत्काल सेवा प्रवाह गर्ने कुरालाई केन्द्रित गरेर जनतालाई सेवा दिन सकिने गरी विद्यमान प्रणालीमा सुधारका लागि लाग्न पनि कर्मचारी संयन्त्रलाई उनले आह्वान गरे ।

प्रधानमन्त्री दाहालले अरू देशका भन्दा हाम्रा कर्माचारी सक्षम छन् भन्ने लागेको भए पनि परिणाम निकाल्न भने नसकिरहेको अवस्था विद्यमान रहेको स्पष्ट गरे । 'हामीले गर्न खोजिरहेका छौँ, गरिरहेका पनि छौँ तर हाम्रा कामबाट जनताले लाभ लिन सकिरहेका छैनन्, हाम्रो कार्यप्रणालीप्रति जनताको गुनासो छ । धेरै कुराको ‘ग्याप’ छ त्यसलाई समाधान गर्नेतर्फ यो अन्तरक्रिया कार्यक्रम केन्द्रित हुनेछ भन्ने विश्वास छ,' उनले भने ।

मुलुकको कर्मचारीतन्त्रप्रति जनताको भरोसा रहेकाले नै सानासाना कुरामा परिवर्तनको महसुस गरेर सेवा प्रवाहबाट नागरिकले सन्तुष्टि लिनसक्नुपर्ने प्रधानमन्त्री दाहालले बताए । 

अन्तरक्रियामा मन्त्रीहरू, मुख्यसचिव, नेपाल  सरकारका सचिवहरू, नेपाल राष्ट्र बैङ्कका गभर्नरलगायत नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारीहरूको सहभागिता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्