
विराटनगरको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
विराटनगर–७ सात घुम्तीमा गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना भने घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
नेपाली सेनाको स्काई ट्रकमार्फत उनीहरूलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीय रिता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । रिता र सुशीलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो ।
दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण र क्षतिको विवरण आई नसकेको प्रहरीले जनाएको छ । कवाडीको गोदाम विराटनगर ६ का दुखीराम मण्डलले सञ्चालन गरेका हुन् । मृतक दीपक दुखरामका छोरा हुन् ।
घटनामा घाइते भएका उनको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ । गोदाम भित्रै मृत एक जना मृत भेटिएका थिए । आगो नियन्त्रणपछि शब भेटिएको थियो । मृतकको पहिचान खुली नसकेको प्रहरीले जनाएको छ ।