
सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको सभामुखको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले जनाएको छ ।