
निर्देशक दिनेश राउतको आगामी चलचित्र ‘पूजार सार्की’मा चलेका तीन जना अभिनेताहरूले शीर्ष भूमिकामा अभिनय गर्ने पक्का भइसकेको छ ।
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले चलचित्रमा काम गर्ने सहमति गरिसकेका छन् ।
स्टार अभिनेताहरूबीच हुन लागेको सहकार्यलाई चलचित्र क्षेत्रमा सकारात्मक रुपमा हेरिएको छ ।
आफ्नो चलचित्रप्रति विश्वास गरि काम गर्ने सहमतिपछि निर्देशक राउतले कलाकारहरूलाई धन्यवाद दिएका छन् ।
नेपाली कलाकार एक आपसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्ला चलचित्रवृत्तमा हुने गरेको छ । सोही हल्लाकाबीच राउतको चलचित्रमा तीन स्टार अभिनेताबीच सहकार्य हुने भएको छ ।
निर्देशक राउतले चलचित्रमा तीन जना कलाकारको एकसाथ उपस्थिति हुने खबरलाई लिएर आइरहेका सकारात्मक प्रतिक्रियालाई लिएर समेत आभार व्यक्त गरेका छन् ।
‘यस किसिमको उत्साहले हामीलाई थप हौसला मिलेको छ । चलचित्रले तपाईहरूलाई निरास नबनाउने हाम्रो इमान्दारिताका साथ कोसिस रहने छ’ – निर्देशक राउतले बुधवार फेसबुकमा लेखेका छन् ।
‘पूजार सार्की’मा विकास सुवेदीको लेखन रहनेछ भने सुभाष भुसालले चलचित्रमा लगानी गर्दैछन् । माघ पहिलो साताबाट चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ ।
चलचित्रका लागि अभिनेत्री भने अहिलेसम्म तय गरिएको छैन ।