
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको लडाईँ कसैले रोक्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै प्रधानमन्त्री नेतन्याहूले विश्वको कुनै दबाबले पनि हमासविरुद्धको लडाईँ नरोकिने बताएका हुन् ।
हमासलाई समाप्त नगरेसम्म कारबाही नरोक्न सैन्य कमाण्डरहरूलाई आदेश दिइसकेको उनले बताएका छन् ।
प्रधानमन्त्री नेतन्याहूले युद्ध रोकिएमा हमास पुनः उठ्ने र इजरायलका लागि सुरक्षा खतरा बढ्ने बताएका छन्।
यसअघि संयुक्त राष्ट्र संघको महासभामा गाजामा जारी युद्ध रोक्न आग्रह गर्ने र दबाब दिने प्रस्ताव पारित भएको थियो । यसबारे प्रतिक्रिया दिँदै इजरायली विदेशमन्त्री एली कोहेनले विश्वव्यापी दबाब वा समर्थन जुनै परिस्थितिमा पनि युद्ध नरोकिने बताएका थिए ।