०१ साउन २०८३, शुक्रबार

माओवादी नेतृत्वको सरकारले सुशासन दिएन, परिवर्तन गर्नुपर्छः शेखर कोइराला

मंसिर २८, २०८०
विराटनगर
माओवादी नेतृत्वको सरकारले सुशासन दिएन, परिवर्तन गर्नुपर्छः शेखर कोइराला

नेपाली कांग्रेसका केन्दी्रय सदस्य डा शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुशासन दिन नसकेको बताएका छन् । 

विराटनगर विमानस्थलमा बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी नेतृत्वको वर्तमान सरकारले सुशासन दिन नसक्ने भन्दै अब सरकार परिवर्तन गर्नुमा जोड दिए ।

नेता कोइरालाले सुशासनका लागि आफ्नै पार्टी कांग्रेस नेतृत्वको सरकार हुनुपर्ने दाबी गरे ।

जनतामा आशा जगाउने खालको सरकार आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो ।  

‘जताततै बेतिथि मौलाएको छ, भ्रष्टाचार बढेको छ । यसैले वर्तमान सरकारसँग जनता निराश भएका छन्,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’ 

सो अवसरमा नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भइरहेको भन्दै चिन्तासमेत व्यक्त गरे । 

आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको भए पनि अहिले त्यो सम्भव नभएकोतर्फ नेता कोइरालाले संकेत गरे ।

‘लोकतन्त्रमा अंकको खेल महत्वपूर्ण हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन,’ उनले भने, ‘तर प्रयास गरिरहेका छौँ ।’

सुशासनसहितको राष्ट्र निर्माणका लागि पार्टीभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था भने सिर्जना भएको उनले बताए । 

नेकपा (एमाले)को संकल्प यात्राका क्रममा धनकुटाको लेगुवाघाटमा अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणको विषयमा पनि नेता कोइरालाले धारणा राखे । उनले पहिचानवादीहरू अराजक हुँदै गएको बताए । पहिचान पक्षधरहरूलाई सरकारसँग बसेर वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि उनले सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्