
प्रदेश अस्पताल स्थापना भएको वर्ष दिन पनि बित्न नपाउँदै प्रदेशस्तरीय अस्पताल अन्यत्र सरेपछि मोरङको बेलबारीमा नगरबासीहरू जनप्रतिनिधिसँग रुष्ट बनेका छन् । बेलबारीमा प्रहरीले सञ्चालन गरेको प्रदेशस्तरीय अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो ।
नगरबासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउन जोड गरिरहेका छन् । अस्पताल मंसिर २६ गते मध्यराति अपहरण शैलीमा सुनसरी जिल्ला समन्वय समितिमा सारिएको भन्दै जनप्रतिनिधिहरूले प्रदेश सरकारसँग फिर्ताका लागि हारगुहार गरिरहेका छन् ।
पूर्वसञ्चारमन्त्रीसमेत रहेका सुनसरी क्षेत्र नम्बर २ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो बलमा उक्त क्षेत्रमा अस्पताल लगेको स्रोतको दाबी रहेको छ । जिल्ला समन्वय समितिको इनरुवाको भवनमा उक्त अस्पताल सारिएको छ । बेलबारीमा भने इलाका प्रहरी कार्यालयको पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो । इलाका प्रहरी नयाँ भवनमा सरेपछि २०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धीरज प्रभाव सिंहले अस्पतालको उद्घाटन गरेका थिए ।
ठाउँ साँघुरो भएको भन्दै प्रहरीले स्थानीय तहलाई समेत जानकारी नदिइ मध्यरातमा अस्पताल इनरुवामा लगेको थियो । ‘हामीले बेलबारी– ४ मा बन्दै गरेको १५ शय्याको अस्पतालकै भवन दिन्छाैँ भनेर भनेका थियौँ,’ उपमेयर नीतु थापा कोइरालाले भनिन्, ‘तर हामीलाई कुनै पनि जानकारी नगराई मध्यरातमा अस्पताल उठाइएछ ।’
अस्पताल रोक्न नसकेको भनेर चर्को विरोध भएपछि जनप्रतिनिधिहरूले बुधवार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
मंगलवार मुख्यमन्त्री केदार कार्कीलाई भेटेर जनप्रतिनिधिहरूले साबिककै स्थानमा अस्पताल पुनः स्थापित गराउन माग गरेका छन् । प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर नीतु थापा कोइराला र स्थानीय राजनीतिकर्मीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै स्थानान्तरण भएको अस्पताल पुनः सोही ठाउँमा स्थापना गर्न माग गरेका छन् । ।
‘रातको समयमा सर–सामान लगिएपछि हामी सबै छक्क परेका छौँ,’ प्रदेशसभा सदस्यसमेत रहेका ज्ञानेन्द्र सुवेदीले भने, ‘समस्या भएको भए हामीसँग छलफल गरेको भए हुनेथियो । निकास निस्की हाल्थ्यो ।’
भेटमा मुख्यमन्त्री कार्कीले एमालेको संकल्प यात्रा सकिएपछि डीआईजीसँग बसेर छलफल गर्ने आश्वासन दिएका थिए । ‘अहिले एमालेको संकल्प यात्रामा डीआईजी सुरक्षामै व्यस्त हुनुहुन्छ’, मुख्यमन्त्रीको भनाई उद्दृत गर्दै प्रदेश सभा सदस्य गीता तिम्सिनाले भनिन् ‘हामी पनि फिर्ता ल्याउन पहल गरिरहेका छाैँ ।’
नगरपालिकाले डाक्टरहरूलाई क्वाटरको व्यवस्थापनसमेत गर्ने गरेको थियो । अस्पतालमा एसीसमेत नगरपालिकाले जडान गरिदिएको उपमेयर थापाले बताइन् । चालु आवका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाले अस्पतालको इन्धनसमेत दिने गरेको थियो ।
यता कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी राजेश बाँस्तोलाले भने अस्पतालका लागि ठाउँ अभाव भएकाले इनरुवामा सारिएको बताए । ‘हामीले प्रदेशभन्दा अन्यत्र अस्पताल लगेका छैनाैँ,’ उनले भने, ‘इनरुवामा संरचनाहरू पनि बनेका छन् ।’
मोरङ क्षेत्र नम्बर– ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मेडिकल व्यावसायिक डा सुनिल शर्माले भने, ‘अस्पताल जाँदासमेत चासो नदिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।’