
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तारुढ दल नेपाली कांग्रेसले महासमिति बैठक सार्ने निर्णय गरेको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
उनका अनुसार फागुन ७ देखि १० सम्म गर्नका लागि नयाँ मिति तोकिएको छ । राष्ट्रियसभा निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक सारिएको हो ।
००००
सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो । यससँगै काठमाडौँ महानगरपालिकाको निर्णयमा ब्रेक लाग्न पुगेको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धको लडाइमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गर्नुपरेको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौं सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राईले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भए पनि नेपालले धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताए ।
००००
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लाने ठगी प्रकरणमा गत २७ वैशाखमा पक्राउ परेका खाण उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि शुक्रवार थुनामुक्त भएका हुन् ।
उच्च अदालतले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न बिहीवार आदेश दिएको थियो । यस्तै सम्पत्ति शुद्धीकरणले १५ लाख मागेकामा दुबै बुझाएर रिहा भएका हुन् ।
००००
गृहमन्त्री समेत रहिसकेका खाण ७ महिनासम्म कारागारमा रहँदा पनि उनकी ९० वर्षीया आमा टोपकुमारी खाणलाई भने यसबारे कुनै जानकारी नगराइएको पाइएको छ ।
बालकृष्णका दाजु हरिकृष्णले भाइ जेल चलान भएको कुरा आमालाई जानकारी नभएको बताए ।
‘बालकृष्ण घर किन आएको छैन भनेर सोध्दा राजनीति, पार्टी र विभिन्न व्यस्तताले नआएको होला भनियो । ९० वर्ष कटेको आमालाई त्यस्तो कुरा भनिराख्न पनि आवश्यक जस्तो लागेन, त्यही भएर जानकारी दिएका थिएनौं,’ हरिकृष्णले भने । टोपकुमारीका चार भाइ छोरामध्ये जेठा हरिकृष्ण नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन् ।
००००
भिजिट भिसामा तीनसय जनालाई विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) तथा रामेछाप दोरम्भा गाउँपालिका–७ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामा रहेका छन् ।
००००
प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
००००
गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ । त्यसमध्ये पाँचजना गृहमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका हुन् ।
००००
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको जानकारी दिएको हो ।
००००
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले अनसन धनगढीमा अससन शुरू गरेका छन् । उनले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट शुक्रवार साँझ अनसन शुरू गरेका हुन् ।
डा केसी गेटा अस्पतालमा अनसन बस्न पुगेका थिए । तर त्यहाँ बस्न नदिएपछि उनले धर्मशालाबाट अनसन शुरू गरेका हुन् ।
००००
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब दल खोलेर अघि बढ्ने संकेत गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका उनले दल खोलेर अघि बढ्ने संकेत गरेका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिएका छन् ।
बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने सङ्कल्प यात्राका क्रममा बिहीबार गृहजिल्ला पुगेका ओली शनिवारसम्म गृहजिल्लामै रहने कार्यक्रम छ ।
००००
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ ।
करिब ५ वर्षदेखि प्रधानमन्त्री कार्यालयमा रहेर झन्डै ३ वर्षदेखि सूचना अधिकारीको भूमिकामा कार्यरत उपसचिव फुयाँललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहने गरी सरुवा गरिएको हो ।
००००
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट सुनसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका २ का ३९ वर्षीय हितेसकुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताले स्थानीय तहको सवलीकरणमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् ।
२९ औं महानगर दिवस समारोहमा शुक्रवार आयोजित कार्यक्रममा उनले सङ्घीयताको अभ्यासपश्चात देशमा भएका २ वटा स्थानीय तहका निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सवलीकरणमा महत्वपूर्ण योगदान र्पुयाएको बताए ।