
पछिल्लो पुस्ताका चर्चित गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार २०२३’ प्रदान गरिएको छ ।
नेपाल जेसीसले आफ्नो ५० औं राष्ट्रिय महाधिवेशनको अवसर पारेर गायक दूतराजलाई नगद तथा स्वर्णपदकसहित युवा पुरस्कार प्रदान गरेको हो । बुटवलमा शुक्रवारबाट जेसीसको राष्ट्रिय महाधिवेशन सुरु भएको छ । सोही अवसर पारेर साहित्य, संगीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै म्याग्देली ठिटो गायक दूतराजलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार ग्रहण गरेसँगै यसले आफूमा अझ जिम्मेवारी बढेको महसुस भएको भन्दै उनले स्रोता–दर्शकहरुको मायालाई सधै सम्हालेर राख्ने बताएका छन् ।
दूतराजको पछिल्लो गीत ‘रिमै’ले छोटो समयमै युटुयुबमा दुई करोड बढी भ्युज पाइसकेको छ । उनका यसअघिका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘जाम भो माईली’ लगायतका गीतहरू पनि निकै रुचाइएका छन् ।
पछिल्लो समय दूतराजलाई मेला महोत्सवमा भ्याइनभ्याइ छ । धेरै गीत हिट दिएका उनी महोत्सवमा स्रोता दर्शकको रोजाइको गायकमा पर्ने गरेका छन् ।