
सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा पूर्वअधिकृतहरूसँग सुझाव लिन थालेको छ ।
सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरू बीचमा सशस्त्रको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने बताएका छन्। साथै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शक हुने उनको विश्वास छ ।
सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी छन् ।
उनीहरूले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरुप लाग्नुपर्ने सुझाव दिएका छन् ।
शुक्रवारबाट शुरू उक्त कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सङ्गठनको उद्देश्य हासिल गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए ।
सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्वपूर्ण हुने भएकाले सङ्गठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको उनीहरूको भनाइ छ ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षकहरूले पनि सीमा सुरक्षा र सङ्गठनको बृहतर हितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।