
नेकपा (माओवादी केन्द्र)का युवा नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्रीसमेत रहेका आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।
उनले आइतवार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।
न्यौपानेले नातिनी प्रतिभा पाठकको गोकर्ण फरेस्ट रिसोर्टमा गरेको विवाह भड्किलो भएको तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष डा ल्हारक्याल लामालाई गरिएको नियुक्तिलाई लिएर प्रचण्डको आलेचना गरेका छन् ।
‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरू भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन,’ उनले फेसबूकमा लेखेका छन् ।

केही समयअघि मात्रै सरकारले विवादास्पद पृष्ठभूमिका लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको थियो ।
उनको नियुक्तिलाई लिएर त्यतिबेला पार्टीभित्रबाटै आलोचना भएको थियो ।
अर्कोतिर सामाजिक रूपान्तरणको समेत मुद्दा बोकेर सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी उनकी छोरी रेनु दाहालले आफ्ना सन्तानको विहे गोकर्ण रिसोर्टमा भड्किलो तरिकाले गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यसै परिपेक्षमा माओवादीकै नेता न्यौपानेले पनि कटाक्ष गरेका हुन् ।
दुई वर्षअघि पनि न्यौपाने अमेरिकी परियोजना एमसीसी पारित गरे प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिएर चर्चामा आएका थिए ।