२९ जेठ २०८३, शुक्रबार
जसले चढ्छन् संसद्को गाडी

संसदबाट ३४ पदाधिकारीले लिन्छन् सवारी सुविधा, पूर्वसभामुखलाई पनि सरकारी गाडी

ओलीले लिएनन्, आरजुलाई विद्युतीय गाडी
पुस १, २०८०
काठमाडौं
संसदबाट ३४ पदाधिकारीले लिन्छन् सवारी सुविधा, पूर्वसभामुखलाई पनि सरकारी गाडी
फाइल फोटो : चीनले अनुदानमा दिएका गाडी

संघीय संसद् सचिवालयले सभामुख–उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष तथा पदाधिकारी गरी ३५ जनालाई सरकारी गाडी र इन्धन सुविधा उपलब्ध गराउँदै आएको पाइएको छ । संसदीय समितिका सभापतिदेखि राष्ट्रिय दलको मान्यता प्राप्त दलका सचेतकसम्मलाई सरकारी गाडी बाँडिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले टोयटा कम्पनीको प्राडो चढिरहेका छन् । औपचारिक कार्यक्रममा सहभागी हुन उनीहरूलाई गृह मन्त्रालयले छुट्टै गाडीको पनि व्यवस्था गरेको छ । सभामुख र अध्यक्ष दुवैले मासिक २५० लिटर इन्धन सुविधा पाउँछन् । 

सचिवालयले उपसभामुख इन्दिरा रानालाई पनि प्राडो जीप उपलब्ध गराएको छ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पजेरो जीप प्रयोग गरिरहेकी छिन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनअनुसार उपसभामुख र उपाध्यक्षले मासिक २ सय ३० लिटर इन्धन सुविधा पाउँछन् । 

प्रतिनिधि सभाका विपक्षी दलका नेता केपी शर्मा ओलीले भने संसद्बाट गाडी लिएका छैनन् । संसद्का पदाधिकारीको सेवासुविधा सम्बन्धी ऐनमा विपक्षी दलको नेतालाई मासिक २ सय लिटर इन्धन दिने व्यवस्था छ । ओलीले पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सुविधा लिएका छन् । 

संसदीय समितिका सभापति सन्तोष चालिसे, राजकिशोर यादव, विमला सुवेदी, किरणकुमार साह, रामहरि खतिवडा, दीपकबहादुर सिंह, भानुभक्त जोशी र ऋषिकेश पोखरेलले स्कोर्पिओ गाडी पाएका छन् । राष्ट्रिय सभातर्फका सभापति प्रकाश पन्थ, जयन्ती देवी राई, मायाप्रसाद शर्मा र दिलकुमारी रावल (पार्वती)ले स्कोर्पिओ गाडी लिएको संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

कृषि तथा प्राकृतिक स्रोत साधन समितिकी सभापति डा. आरजु राणा देउवाले विद्युतीय गाडी लिएकी छिन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खान र जसपाका प्रमुख सचेतक प्रदीप यादवले पनि विद्युतीय गाडी लिएका छन् । 

चीन सरकारले दिएका ५ वटा विद्युतीय गाडीमध्ये एउटा सभामुखको सचिवालयका प्रमुख स्वकीय सचिव र एउटा पूर्वसभामुख अग्नि सापकोटाले लिएको संसद सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो । 

रमेश लेखकदेखि ज्ञानेन्द्र शाहीसम्मलाई गाडी 

संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतक र सचेतकलाई गाडी सुविधा उपलब्ध गराएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले गाडी सुविधा पाएका छन् । 

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र सचेतक रूपा सोसी चौधरीले पनि गाडी पाएका छन् । सरकारको नेतृत्वकर्ता दल र प्रतिपक्षी दलको प्रमुख सचेतक र सचेतकलाई गाडी सुविधा दिने गरिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र राप्रपाका ज्ञानबहादुर शाहीले पनि सरकारी गाडी पाएका छन् । 

राष्ट्रिय सभामा सत्तपक्षका नेता रमेशजंग रायमाझी र विपक्षी दलका नेता देवेन्द्र दाहालले पनि सरकारी गाडी पाएका छन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ तथा कांग्रेस सचेतक अनिता देवकोटाले पनि संसद् सचिवालयबाट गाडी पाएका छन् ।

सरकारी सवारी सुविधा पाएकाले मासिक इन्धन, मोबिल र चालक पाउँछन् । गाडी मर्मतको खर्च पनि राज्यकोषबाट नै व्यहोर्ने गरिएको छ । 

क-कसले लिएका छन् सवारी सुविधा ? हेर्नुहोस्, सूची :

null

null

ढुंगानाबाहेक सबै पूर्व सभामुखलाई सचिवालयको गाडी 

सचिवालयले पूर्व सभामुखहरूलाई पनि गाडी उपलब्ध गराउँदै आएको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर पूर्व सभामुखले गाडी लिएका हुन् । 

पछिल्लोपटक अग्नि सापकोटाले विद्युतीय गाडी लिएका छन् । चीन सरकारले उपलब्ध गराएका ५ मध्ये एउटा गाडी पूर्व सभामुख सापकोटाले लिएका हुन् । 

पूर्व सभामुख तारानाथ रानाभाट, कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि सचिवालयबाट गाडी लिएका छन् । राष्ट्रपति निर्वाचित भएलगत्तै रामचन्द्र पौडेलले पूर्व सभामुखको हैसियतमा लिएको गाडी फिर्ता गरेका छन् । संविधानसभा अध्यक्षको हैसियतमा सुवास नेम्वाङले प्रयोग गरिरहेको गाडी उनको निधनपछि सचिवालयमा फिर्ता गरिएको छ । 

संसद्को महासचिवबाट हालै राजीनामा दिएका भरत गौतमले पनि गाडी फिर्ता गरेका छन् । 

पढ्नुहोस्, यो पनि :

पूर्वसभामुखलाई १५ वर्षपछि सरकारी गाडी चढ्ने रहर लागेपछि...

 


 

salt training

कमेन्ट गर्नुहोस्