२६ जेठ २०८३, मंगलबार

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ

पुस १, २०८०
काठमाडौं
ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ

ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा निर्वाचित बनेका थिए ।

साथै उनी नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

शपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिटेन्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आईएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति/निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आईएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गरेका थिए । ग्लोबल आईएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको उनको भनाइ थियो ।

ग्लोबल आईएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्‍याउन राष्ट्र बैंक र नेतृत्वले पुर्‍याएको सहयोगको स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

ढकालले नेपाली बैंकहरूले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । आफ्नो कार्यकालमा बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई आजै शपथ गराएका थिए ।

ग्लोबल आईएमई बैंकको १७औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित बनेका थिए ।

शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू, ग्लोबल आईएमई बैंकको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्