
विराटनगरका व्यापारीहरूले एमजी रोड भत्काउन माग राखेका छन् । विराटनगर महानगरपालिका–९ मा रहेको हिमालय रोडमा बनाइएको संरचना (एमजी रोड) बनिनसक्दै भत्काउन व्यापारीले माग गरेका हुन् ।
महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको क्षेत्रलाई सिक्किमको एमजी रोडजस्तै बनाउने भन्दै संरचना निर्माणको ठेक्का लागेको थियो ।

महानगरले सौन्दर्यीकरण गरेको १२० मिटर सडक क्षेत्रमा ६० वटा बढी व्यापारिक पसल र सटरहरू छन् । ती सटरहरू सञ्चालन गर्ने व्यापारीले सोमबार पसल बन्द गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले महानगरपालिकालाई ज्ञापन पत्र दिँदै उक्त क्षेत्रको सडक पुरानै अवस्थामा ल्याउनु पर्ने माग गरेका छन् ।
२०७८ सालमा १ करोड ८३ लाखमा एमजी रोड बनाउने योजना तत्कालीन मेयर भीम पराजुलीले अगाडि सारेका थिए । उक्त रोडमा फाउन्टेन पार्क, फलैंचा बने पनि व्यवस्थित नभएको स्थानीय व्यापारीको आरोप छ।
एमजी रोडमा निर्माण गरिएका पानीको फोहोरास्थल फोहोरको पोखरी भएको तथा राखिएका बत्ती नबलेको स्थानीयले आरोप लगाएका छन् ।

यसअघि उक्त संरचना निर्माण शुरू हुँदै गर्दा पनि स्थानीय नागरिक समाजले विरोध गरेको थियो । नागरिक अगुवा दिनेश श्रेष्ठले सानो भूगोलमा पैदल रोड बनाउने कुरा बौद्धिक टाँट पल्टाइ भएको बताएका थिए ।
महानगरले भने फुटपाथसमेत अतिक्रमण नहुने गरी आकस्मिक वाहन आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाएको जनाएको छ ।