
दर्शकको खचाखच भीडमा अभिनेता पल शाहको सुनको ब्रासलेट हराएको छ ।
धनगढीमा चलेको ‘सुदूरपश्चिम महोत्सव २०८०’मा प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।
गत शनिवार शाह उपस्थित हुने भएपछि महोत्सवमा दर्शकको बाक्लो भीड लागेको थियो । उनलाई फ्यानबाट जोगाउन आयोजकलाई समेत हम्मेहम्मे परेको थियो ।
दर्शकको सोही भीडमा फ्यानसँग हात मिलाउने क्रममा ब्रासलेट झरेको हुनसक्ने उनीसँगै महोत्सवमा पुगेका कोरियोग्राफर एवं निर्देशक काजिश श्रेष्ठले बताए ।
उनका अनुसार ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको आयोजकले जनाएको छ ।
महोत्सवमा उद्घोषकले आइतवार पनि शाहको ‘ब्रासलेट हराएको सूचना’ दर्शकमाझ जानकारी गराएका थिए ।
ब्रोसलेट हराएकोमा अभिनेता शाहले भने कुनै दुःख व्यक्त एवं गुनासो गरेका छैनन् । ब्रासलेट भन्दा फ्यानहरुको माया ठूलो सम्झिएका कारण पनि दुख व्यक्त नगरेको हुनसक्ने निर्देशक श्रेष्ठले बताए ।
महोत्सवमा पलको लोभलाग्दो क्रेज देखिएको थियो । पलले सामाजिक सञ्जालमा राखेका तस्वीर हेर्दा पनि हजारौं दर्शक उपस्थिति रहेको देख्न सकिन्छ ।


तस्वीरहरू : पलको फेसबुकबाट