राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको शिक्षा प्रणालीलाई जीवनपयोगी र विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको उनन्चासौं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने समेत बताए ।
'राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहन्छ,' राष्ट्रपति पौडेलले भने, 'ज्ञान, सीप र प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ ।
उनले वर्तमान युगमा शिक्षाविनाको समाज कल्पना गर्न नसकिने भन्दै शिक्षा विकासका लागि पर्याप्त नभए पनि नेपाल सरकारले यसतर्फ ठूलो लगानी गर्दै आएको स्पष्ट पारे ।
साथै, राष्ट्रपति पौडेलले राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि नेपालीहरू लागिपरिरहेको पनि बताए । देश परिवर्तनको बाटोमा अघि बढ्दा संक्रमणकालीन चुनौती र विघ्नबाधाहरू समेत सामना गर्नुपरिरहेको उनको भनाइ थियो ।
'शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौं । देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईँहामीहरूले नै गर्नुपरेको छ,' उनले भने ।
राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानताको प्रत्याभूति गरेको बताए । पौडेलले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष भएको स्पष्ट समेत पारे ।
उनले विद्यार्थीका लागि आजको दिन अविस्मरणीय रहने भन्दै यस्तो दिन पटक-पटक पुनरावृत्ति नहुने पनि बताए ।
‘आज तपाईंहरूको अनुहारमा मैले नेपालको सुन्दर अनुहार प्रतिविम्बित भइरहेको पाएको छु । तपाईँहरू आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षता बोकेर उत्पादनशील कार्यका लागि जाँदै हुनुहुन्छ । भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईँहरूकै हातमा छ ।'