
नेपाल वायु सेवा निगमले लिखतसम्बन्धी कसुर मुद्दामा दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।
अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरिएको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अधिकृत पोखरेललाई मंगलवार निलम्बन गरिएको पत्र थमाएका छन् ।
टुरिस्ट भिषामा मानव तस्करी गर्न सघाएको आरोपमा निगमका अधिकृत पोखरेललाई प्रहरीले मंसिर २५ गते पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई उनलाई हिरासतमा राखिएको छ ।
यस्तै ठगी तथा लिखतसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेका यादवलाई मंगलवार नै निलम्बनको पत्र दिइएको छ । थुनामा रहेका दुवै कर्मचारीलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म निलम्बन गरिएको निगम प्रशासन स्रोतले जानकारी दियो ।