१८ असार २०८३, बिहीबार

सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च

पुस ४, २०८०
इलाम
सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च
फाइल फोटो

इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।

सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई रू पाँच हजारका दरले रू १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा मात्र एक सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन् ।

पहिलो त्रैमासिकमा सुत्केरीले पोषण भत्ताबापत रू पाँच लाख ५० हजार खर्च भएको येक्तेनले जानकारी दिए । ‘पोषण भत्ता पाउनका लागि नगरभित्र स्थायी बसोबास भएका, कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भजाँच गरेका र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गरेको हुनुपर्ने छ’, उनले भने ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रका आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिका साथै आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए । ‘सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी सकरात्मक सन्देश प्रवाह गर्नका लागि उक्त कार्यक्रम लागू गरिएको हो’, उनले भने ।

सुत्केरी पोषण भत्ता एक महिलालाई दुई वटा बच्चा वा दुई पटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने नगरप्रमुख पोख्रेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालू आवमा यस कार्यक्रमका लागि रू २० लाख विनियोजन गरेको छ ।

त्यस्तै, पालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्चबापत रू पाँच हजार उपलब्ध गराउँदै आएको छ । 

दाहसंस्कार खर्च वितरणसम्बन्धी कार्यविधि पारित गरी मृतकका परिवारलाई दाहसंस्कार खर्च वितरण गर्दै आएको नगरप्रमुख पोख्रलले बताए । उनका अनुसार गत आवमा नगरभित्रका एक सय ९० जना मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराइएको छ । ​

दाहसंस्कारबापत गत वर्ष रू नौ लाख ५० हजार खर्च भएको लेखा अधिकृत येक्तेनले जानकारी दिए । उनका अनुसार दाहसंस्कार खर्च लिनका लागि मृतक नगरभित्र स्थायी बसोबासी भएको र ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गरी प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

चालू आवको पहिलो त्रैमासिकमा ८९ जना मृतकका परिवारले दाहसंस्कार खर्चबापत रू चार लाख ४५ हजार वितरण गरिएको येक्तेनले बताए । उनका अनुसार चालू आवमा दाहसंस्कार खर्चका लागि रू २० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई मासिक रू पाँच सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । गत आवमा ८१ जना ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई रू पाँच हजारका दरले रू चार लाख ४६ हजार वितरण गरिएको नगर कार्यालयले जनाएको छ । 

चालू आवमा भने १० जना थपिएका छन् । नगरपालिकाले चालू आवमा ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई भत्ताका लागि रू पाँच लाख विनियोजन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्