
मस्को–युक्रेन द्वन्द्वका कारण युरोपेली निकायबाट प्रतिबन्ध लगाइए पनि रुसी फूटबल सङ्घले बुधबार युईएफए छाडेर एसियाली फूटबल महासङ्घममा (एएफसी)मा सामेल हुनेविरुद्ध मतदान गरेको छ ।
‘हामीले एसियामा नसर्ने निर्णय गरेका छौँ, सबैले सर्वसम्मतिले निर्णयको समर्थन गरेका छन्,’ रुसी फुटबल सङ्घका उपाध्यक्ष अखमेद आयदामिरोभलाई उद्धृत गर्दै सरकारी समाचार समिति तासले भनेको छ, ‘हामी युरोपका लागि लड्ने छौँ, रुस युरोप हो, हामी जित्नेछौँ ।’
सन् २०२२ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यक्रेनमाथि आक्रमण सुरु गरेको चार दिनपछि लगाइएको प्रतिबन्धअन्तर्गत रुसलाई युरो २०२४ क्वालिफायरमा भाग लिन रोक लगाइएको थियो । युईएफए छाड्ने र एफसीमा सामेल हुने निर्णयले विशेषगरी च्याम्पियन्स लिगजस्ता युरोपेली प्रतियोगितामा संलग्न भएका रुसी क्लबहरूलाई वित्तीयरूपमा असर पर्नेछ ।
अन्तर्राष्ट्रिय नियामक संस्था फिफाले एएफसीमा सामेल हुने मस्कोको प्रयासलाई अस्वीकार गर्न सक्ने रुसी अधिकारीहरूले बताएका छन् । रुसी फूटबल सङ्घका सदस्य मिखाइल गेर्शकोभिचले सरकारी समाचार समिति आआईए नोभोस्तीसँग भने, ‘फिफाका तर्फबाट कुनै ग्यारेन्टी नभएकाले हामीले सर्वसम्मतिले एएफसीमा सामेल हुने विरुद्ध मतदान गर्यौँ ।’
उनले मस्कोले युईएफएसँग सम्पर्क जारी राख्ने बताए । ‘हेरौँ, अर्को वर्षको अवस्था कस्तो हुन्छ,’ उनले भने ।