२९ जेठ २०८३, शुक्रबार

माइती घर बसेकी पवित्राको शव पत्करभित्र भेटियो

पुस ४, २०८०
खोटाङ
माइती घर बसेकी पवित्राको शव पत्करभित्र भेटियो

 तेह्र दिनदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् । 

पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमान्सँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मङ्सिर–१९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । 

भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका छन् । बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमान्सँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइती घर फर्किएकी थिइन् । तीन छोरी श्रीमान्सँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।

पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए । पवित्राको शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्