
आफ्नै दल नेपाली कांग्रेसकाे मधेश प्रदेश सम्मेलनमा मर्यादाक्रममा चित्त नबुझेपछि पूर्वउपसभापति विमलेन्द्र निधि दर्शकदीर्घामा बसेका छन् । बिहीवार दिउँसो जनकपुरधाममा शुरू भएको प्रदेश सम्मेलनका क्रममा १५ औं नम्बरतिर मात्रै मञ्चमा बोलाइएपछि निधि मञ्चमा नगई दर्शकदीर्घामा गएर बसेका हुन् ।
‘केन्द्रीय पदाधिकारी, प्रदेशका पदाधिकारी, कांग्रेसका मन्त्री र नेताभन्दा पनि पछाडि १५ औं नम्बरतिर बोलाइएपछि उहाँ मञ्चमा नगई दर्शक दीर्घामा गएर बस्नुभएको हो,’ कांग्रेस धनुषाका एक नेताले भने ।
तर सम्मेलनको उद्घाटन हुनुपूर्व निधि सभापति शेरबहादुर देउवालाई स्वागत गर्न जनकपुरस्थित विमानस्थलमा अग्रस्थानमा थिए । विमानस्थलको भीआईपी कक्षमा पनि निधि देउवासँगै बसेका थिए । तर प्रदेश सम्मेलनमा आफूलाई बेवास्ता गरिएको भन्दै निधि मञ्चमा नगएका हुन् ।
तर मञ्चमा कांग्रेस सभापति, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका मन्त्रीहरूसहितका पदाधिकारी र पूर्वपदाधिकारी केन्द्रीय सदस्यसहितका नेताहरू भने मञ्चमै बसेका छन् ।
आफूलाई वरिष्ठ अतिथिका रुपमा आमन्त्रण नगरिएपछि नेता डा. शेखर कोइराला पनि मधेश सम्मेलनमा सहभागी भएनन् ।