
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एक वर्षमा सोचे अनुसारको नतिजा दिन नसकेको स्वीकार गरेका छन् ।
विराटनगर विमानस्थलमा बिहीवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको सरकार भएकाले पनि सोचेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् ।
सोचेअनुसार नतिजा दिन नसके पनि सरकार असफल भने नभएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।
‘मैले जति सोचेको हो त्यसरी भयो भन्ने मेरो दाबी छैन,’ उनले भने ‘गठबन्धनको सरकार हो । धेरै सीमा र अप्ठ्यारा हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारी पनि थियो ।’

सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरामा भने सरकार सफल भएको उनको भनाइ थियो । ‘सरकारले सामाजिक न्याय, मिटरब्याज पीडितका र नागरिकता समस्या हल गर्यो भ्रष्टाचार र सुशासनको पक्षमा यो स्तरको कहिल्यै छलफल भएको थियो ?, प्रतिप्रश्न गर्दै उनले थपे, ‘भू–माफियाका विरुद्ध कदम चालिएको छ । सरकार अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ऐतिहासिक रुपमा सफल छ ।’
कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए ।
सो अवसरमा उनले तत्काललाई मन्त्रिपरिषद् विस्तार वा हेरफेर गर्ने आफ्नो योजना नरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको बिफ्रिङ लिइरहेकाले अहिले नै सोच्ने बेला भइनसकेको बताए । ६ वटा मन्त्रालयको बिफिङ सकिएको पनि उनले जानकारी दिए ।
‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गर्नेछु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउँछु । अब सरकारले ‘टार्गेट’ लिन्छ । त्योअनुसार भएन भने चाहिँ सोच्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सदन किरातीले बुधवार दिएको अभिव्यक्ति गलत भएको बताए । उनले मन्त्रीसग भेटेर थप छलफल गर्ने जानकारीसमेत दिए ।
प्रचण्ड गत वर्षको पुस ११ गते नेकपा (एमाले)को सहयोगमा प्रधानमन्त्री बनेका थिए । तर एक महिनामै उनी एमालेसँगको सहकार्य तोड्दै नेपाली कांग्रेसलगायत गठबन्धन दलमा सामेल भएका थिए ।