
काठमाडौं, १५ असोज — उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा छिमेकी मुलुक दक्षिण कोरियाले पनि युद्धको तयारी गरेको छ ।

दक्षिणको सिमानामा यसअघि नै अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) जडान गरिसकेको छ । अहिले दक्षिणले लामो दूरीको हावाबाट जमीनमा प्रहार गर्ने क्षेप्यास्त्रहरू पनि तयार गरेको छ ।
यो क्षेप्यास्त्र प्रणाली प्योङचाङ काउन्टीमा तैनाथ गरिएको छ । त्यहाँ सन् २०१८ को फेब्रुअरी महिनामा शिशिरकालीन खेलहरू आयोजना गरिँदैछ । खेलमा धेरै देशका खेलाडीहरू भाग लिँदैछन् ।
त्यसैलाई मद्देनजर गरेर दक्षिणले प्योङचाङमा नाकाबन्दी गर्न शुरु गरेको छ । उत्तर कोरियाको परीक्षणलाई ध्यानमा राखेर बलियो प्रतिरक्षा प्रणाली लगाएको हो दक्षिणले ।
अन्तर्राष्ट्रिय जगतले लगातार दबाब दिएपनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहँदा कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच पारस्परिक धम्कीको शृंखला चलिरहेकाले पनि युद्धको आशंका जन्माएको छ ।
युद्ध भएछ नै भने त्यसको सबभन्दा बढी असर दक्षिण कोरियालाइृ पर्छ । त्यसैले दक्षिणले अमेरिकासँग मिलेर आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको निर्माणलाई तीव्रता दिएको हो ।
एजेन्सी