
‘प्रेमगीत’ नेपाली चलचित्रमा ब्रान्ड नाम बनिसकेको छ । यसका तीनवटा श्रृंखला निर्माण भएका छन् र तीनवटै बक्स अफिसमा सुपरहिट भएका थिए ।
सन्तोष सेनको निर्माण रहेको चलचित्रको तीनवटै श्रृङ्खलामा युवास्टार प्रदीप खड्का शीर्ष भूमिकामा छन् । अभिनेत्री भने फरक–फरक छन् ।
‘प्रेमगीत’मा अभिनेत्री पूजा शर्माले अभिनय गरेकी थिइन् । ‘प्रेमगीत २’मा अश्लेषा ठकुरी र ‘प्रेमगीत ३’मा क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा छन् । अश्लेषा र क्रिष्टिना प्रेमगीत श्रृङखलाबाटै चलचित्रमा डेब्यु गरेका थिए ।
‘प्रेमगीत’ श्रृङखलाका तीन अभिनेत्रीमध्ये पूजा शर्मामात्र सक्रिय देखिएकी छन् । थुप्रै चलचित्रमा अभिनय गरिसकेकी उनको ‘उपहार’ र ‘दान्भी’ चलचित्र प्रदर्शनका लागि तयार छन् । म्युजिक भिडियोमा पनि उनले मोडलिङ गरिरहेकी हुन्छिन् ।
‘प्रेमगीत २’की अभिनेत्री अश्लेषा ठकुरीले यसपछि ‘मेरी मामु’ चलचित्रमा काम गरिन् । अपेक्षित व्यापार गर्न नसकेको यो चलचित्र प्रदर्शनमा आएको पाँच वर्ष भइसकेको छ तर त्यसपछि अश्लेषालाई दर्शकले अन्य चलचित्रमा हेर्न पाएका छैनन् । उनी दर्शकको नजरमा गुमनाम बनेकी छन् ।
यस्तै, क्रिष्टिनाको पहिलो चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको एक वर्षभन्दा धेरै भएको छ । यो चलचित्रमा छनोट भएदेखि प्रदर्शन हुँदासम्म उनले निकै चर्चा पाएकी थिइन् । नेपाल, भारतलगायतका थुप्रै देशमा एकसाथ प्रदर्शनमा आएको चलचित्रका कारण उनको चर्चा स्वदेशमा मात्र सीमित थिएन । यद्यपि, चलचित्र प्रदर्शनमा आएपछि भने क्रिष्टिना गुमनामजस्तै हुन पुगेकी छन् ।
वर्ष दिनसम्म उनले दोस्रो चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । चलचित्रको अफर नपुगेर वा हो पुगेर पनि कथा चित्त नबुझेका कारण काम नगरेकी हुन् भन्नेबारे उनले केही बोलेकी छैनन् ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा पनि यी सुन्दरी पहिलेजस्तो सक्रिय देखिएकी छैनन् ।