नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पैसा उठाउने नाममा बिजुलीको लाइन काटेर उद्योगी व्यवसायीलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको उपलब्धि सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महसुल असुल्ने नाममा व्यापारीलाई आतंकित नबनाउन आग्रह गरेका हुन् ।
‘अहिले देशमा विभिन्न समस्या छन् । डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । सरकारले डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने भन्ने व्यवसायीको भनाइ छ,’ ओलीले भने, ‘उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत् बन्द गर्ने काम उचित होइन । सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो भएन ।’
विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको महसुल असुल्ने तयारी गरेपछि व्यवसायीले नेताहरूको ध्यानाकर्षण गराएका थिए ।