.jpg?1506851454336)
काठमाडौं, १५ असोज- आन्तरिक उडान भर्ने विमान कम्पनीहरुले विमानको संख्या बढाएपछि यो वर्षको दशैंमा राजधानी उपत्यकाबाट बाहिरिने हवार्ई यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले बुद्ध एयर, तारा एयर, श्री एयर, सौर्य, एयरसँगै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स पनि आन्तरिक रुपमा तिब्र प्रतिस्पर्धामा जुटेसँगै हवार्ई यात्रा गर्नेको संख्या करिब ३० प्रतिशतले बढेको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ । नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष पवित्र कुमार कार्कीकाअनुसार यो वर्षको दशैंमा धेरैले हवार्ई यात्रा गरेका छन् । उनकाअनुसार यो दशैंमा मात्रै करिब एक लाख मानिस हवाईमार्गमार्फत् उपत्यकाबाट बाहिरिए ।
गत वर्ष दशैंमा ७० हजार चार सय ३९ यात्रुले हवाईमार्ग प्रयोग गरेका थिए । भने २०७२ सालको दशैंमा ४१ हजार आठ सय ७४ जनाले मात्र दशैंमा हवाईजहाज प्रयोग गरेका थिए । खासगरी लामो दुरीमा हवार्ईमार्गको बढी प्रयोग भएको पिएस ट्राभल एजेन्सिज धनगढीका प्रवन्ध निर्देशक पदम विक्रम शाह बताउँछन् । काठमाडौंदेखि धनगढीको रुट लामो मानिन्छ । शाहले रेमिट्यान्स र बढ्दो औद्योगिकरणका कारण विस्तारै सुदूरपश्चिमको जनजीवन सम्बृद्धितर्फ उन्मुख भएको संकेत पनि हवार्ईमार्गको बढ्दो यात्रा भएको बताए । अन्य हवार्ईमार्गमा पनि अत्यधिक चाप देखिएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।
विमान कम्पनीहरुले नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरी प्रतिस्पर्धात्मक रुपमा आन्तरिक भाडा पनि धमाधम घटाएका थिए । उसो त पछिल्ला वर्षहरुमा आन्तरिक रुपमा हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बढ्दो छ । पछिल्ला २ वर्षमा नेपाली आन्तरिक हवाई आकाशमा यात्रा गर्नेको संख्या वर्षेनी करिब २० प्रतिशतले बढिरहेको बताइन्छ ।
दशैंलाई लक्षित गरी वायु सेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा न्युनतम ६ सय देखि २१ सय सम्म एकतर्फी भाडा समेत घटाएको थियो । विस्तारै नेपालीहरु आयस्रोतसमेत बढेकाले हवार्ई यात्रा गर्नेको संख्या बढेको नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य बताउँछन् ।
हवार्ईजहाज बढ्याबढ्यै, प्रतिस्पर्धा झनै
गत वर्षको तुलनामा यो वर्ष १० वटा भन्दा बढी जहाज थपिएका छन् । त्यससँगै सिट र उडान संख्या पनि बढेको छ । यात्रुको चाप भने उस्तै छ । करिब तीन सय ७० वटा सिट थपिएका छन् । गत वर्षभन्दा यस वर्ष एउटै एयरलाइन्सले एकै स्थानमा चार वटासम्म उडान थपेका छन् ।
विमान कम्पनीहरुले धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भित्रिइरहेका छन् । आन्तरिक उडानका जहाजको संख्या ४० भन्दा बढी पुगिसकेको छ । अझै केही जहाज थपिने क्रममा छन् । यसले आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान सञ्चालक बताउँछन् ।
हवार्ई भाडामा तिब्र प्रतिस्पर्धा भइरहँदा कतै आन्तरिक ‘फेयर वार’ चल्ने त होइन भन्ने शंका पनि उब्जाएको छ । अहिलेको अवस्था त्यसो नभएको वायु सेवा संञ्चालक संघ नेपालका अध्यक्ष पवित्र कार्की बताउँछन् ।
आन्तरिक उडानमा विमानको संख्या बढेपछि स्वभाविक रुपमा प्रतिस्पर्धा बढेको बताउँदै उनले नेपालीहरुको आयस्रोत बढिरहँदा हवाईयात्रा गर्नेको संख्या बढिरहेको जानकारी दिए ।