२२ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

सचिवालयको कमजोरीले प्रधानमन्त्री प्रचण्ड आलोचित, भुटानी शरणार्थी नेता रिहा

पुस १२, २०८०
काठमाडौं
सचिवालयको कमजोरीले प्रधानमन्त्री प्रचण्ड आलोचित, भुटानी शरणार्थी नेता रिहा

‘लोकान्तर राउण्ड’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको कमजोरीले उनी आलोचित बनेका छन् । बुधबार पार्टीको कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टरमार्फत निर्वाचन क्षेत्र गोरखा पुगेका प्रचण्डले त्यहाँ रहेका आफन्तसँग भेटपछि खिचेको तस्बिरलाई लिएर सामाजिक सञ्चालनमा आलोचना भइरहेको छ । 

स्रोतका अनुसार प्रचण्ड निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएपछि कार्यक्रमस्थल नजिकै रहेको आफ्नो नातिजी–ज्वाइँको घरमा समेत भेटघाटका लागि पुगेका थिए । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ स्थित घ्याल्चोकमा रहेको नवविवाहित नातिनी ज्वाइँको घरमा भलाकुसारीपछि आफन्तहरु प्रचण्डलाई बिदाइ गर्न हेलिकप्टरसम्मै पुगेका थिए । सोही क्रममा हेलिकप्टरलाई पृष्ठभूमि बनाएर सचिवालयले खिचेको तस्बिर सार्वजनिक भएको थियो ।

तस्बिरको गम्भीर्यतालाई ख्याल नगरी सचिवालयबाट सार्वजनिक गरिएको तस्बिरकै कारण प्रचण्डको जीवनशैलीमाथि प्रश्न उठाउँदै विभिन्न टिकाटिप्पणी भइरहेका हुन् ।

मंगलबार देशबासीको सम्बोधनका क्रममा प्रचण्डले आफू सुध्रिने, काममा केन्द्रीत हुने र आत्यावश्यक बाहेकका कार्यक्रममा समेत नजाने बताएका थिए । तर, प्रतिबद्धताको २४ घण्टा बित्न नपाउँदै सरकारी स्रोतको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
००००
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । 

पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन् । 

उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर रिहा भएका हुन् । उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि रिहा भएको सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए।
००००
बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो ।
००००
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले एकै व्यक्ति दुुईपटकभन्दा बढी प्रधानमन्त्री हुुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नै समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी पाएका छन् । चार दलीय मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने भनिए पनि हाललाई नेपाललाई नै संयोजकमा निरन्तरता दिने निर्णय भएको हो ।
००००
कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको  बैठकले  उक्त विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गरेको हो ।
००००
नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
उनलाई विशेष अदालतले बुधवार दोषी ठहर गरेको हो ।
००००
राष्ट्रिय सभा सदस्य मृगेन्द्रप्रसाद सिंह यादव दोहोरो नागरिकतासम्बन्धी विवादमा मुछिएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित यादव सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । तर, उनले भारतको बिहारबाट समेत मतदाता परिचयपत्र प्राप्त गरेको देखिएको छ ।
००००
नेपाल विद्युत् प्राधिकरणले टाइम अफ डे (टीओडी) मिटरको कुनै पनि रेकर्ड नरहेको स्वीकार गरेको छ ।
डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा टीओडी मिटरको तथ्यांक उपलब्ध गराउने जानकारी दिएको प्राधिकरणले अदालतलाई सो तथ्याङ्क नभएको पत्र पठाएको पाइएको छ ।
००००
टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रिया कानूनसम्मत नदेखिएकाले यस सम्बन्धमा थप कुनै भुक्तानी नगर्न र सबै प्रक्रियालाई यथास्थितिमा राख्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियाका सम्बन्धमा छलफलपछि यस्तो निर्देशन दिएको हो ।
००००
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधवार पनि ‘हेर्दाहेर्दै’मा परेको छ ।
जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधवार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश आएको अदालत स्रोतले जनाएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्