०७ असार २०८३, आइतबार
रुस-युक्रेन युद्ध

के युक्रेन युद्ध जित्दैछन् पुटिन ?

पुस १२, २०८०
काठमाडौं
के युक्रेन युद्ध जित्दैछन् पुटिन ?
Photo : agnew/getty images/eyevine via the economist

करिब २ वर्षअघि २४  फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि विकसित घटनाक्रमहरूले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाईं जित्न सक्ने सम्भावनाको संकेत गरेका छन् । रुसका राष्ट्रपति पुटिनले देशलाई युद्धमा कायमै राखेर सत्तामा आफ्नो पकड पनि बलियो बनाएका छन् ।

उनले विदेशबाट सैन्य सामग्रीहरू खरिद गरेका छन् भने दक्षिणी विश्वका कतिपय देशहरूलाई अमेरिका विरुद्धको खेमामा लैजान प्रयास गरिरहेका छन् । निर्णायक रूपमा उनी युद्धपछाडिको युक्रेन एक समृद्ध युरोपेली लोकतन्त्रको रूपमा उभिन सक्छ भन्ने पश्चिमी विश्वासलाई कमजोर पार्न सफल बनेका छन् ।

पुटिनलाई निराश पार्न अमेरिका नेतृत्वको नेटो गठबन्धनले धेरै गर्न सक्थ्यो । अझै पनि पश्चिमले चाहने हो भने आफ्ना औद्योगिक र वित्तीय स्रोतहरू प्रयोग गरेर रुसलाई धरासायी बनाउन सक्छ । यद्यपि, युरोपमा देखिएको रणनीतिक दृष्टिकोणको अभाव, नियतिवाद र आत्मगत कमजोरीले युक्रेनलाई थप निराश बनाएको छ । आफू र युक्रेनका लागि पश्चिमले तुरुन्तै सुस्तता हटाउन आवश्यक छ ।

पुटिनको जीत सम्भव हुँदै जानुको कारण भूमि कब्जा गर्नुभन्दा पनि बढी धैर्य रहन सक्नु हो । कुनै पनि सेना आफ्नो नियन्त्रणमा रहेको भूमिबाट अर्कोलाई धपाउन सक्ने अवस्थामा छैन । युक्रेनको जवाफी आक्रमण सुस्त बनेको छ । अर्कोतर्फ रसियाले डोनबास क्षेत्रको एभिडिभका सहर कब्जामा राखिरहने क्रममा दिनमै सयौं सेना गुमाइरहेको छ । पछिल्लो समय यो युद्ध दुवैतर्फबाट रक्षात्मक बनेको छ, जुन अझै धेरै वर्षसम्म लम्बिन सक्छ ।

तर, रणभूमिले राजनीतिलाई आकार दिन्छ । मोमेन्टमले मनोबललाई असर गर्छ । यदि युक्रेन पछि हट्यो भने  कीभमा चर्को असहमति हुनेछ । त्यसपछि युक्रेनलाई पैसा र हतियार पठाउनु भनेको बर्बादी हो भनेर पश्चिममा आवाज उठ्नेछ । कम्तीमा २०२४ को अन्त्यसम्म रूस लड्नका लागि बलियो स्थितिमै हुनेछ, किनभने रुससँग युक्रेनसँग भन्दा धेरै ड्रोन र तोपका गोलाहरू हुनेछन् । रुसी सेनाले केही युक्रेनी हतियारहरू विरुद्ध सफल इलेक्ट्रोनिक युद्ध-रणनीतिहरू विकास गरेको छ ।

युक्रेनप्रति बढ्दो विदेशी समर्थनले रूसलाई आंशिक रूपमा किनारामा पार्न सकिन्छ जस्तो पनि देखिन्छ । पुटिनले इरानबाट ड्रोन र उत्तर कोरियाबाट बमका गोला प्राप्त गरेका छन् । युक्रेनमा के हुन्छ, के हुँदैन भन्ने कुरामा आफ्नो कुनै स्वार्थ नरहेको भनी पुटिनले विश्वका दक्षिणी देशहरूलाई विश्वस्त पार्ने काम गरेका छन् । टर्की र काजाकस्तान रुसलाई सघाउने प्यादा बनेका छन् ।

कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गरेर रुसी तेलको राजस्व सीमित गर्ने पश्चिमी योजना असफल भएको छ किनभने समानान्तर व्यापारिक संरचना पश्चिमको पहुँचभन्दा बाहिर आएको छ । रूसबाट युराल कच्चा तेलको मूल्य ६४ डलरमा सीमित छ ।

पुटिनले किन पनि जितेका छन् भने उनले देशमा आफ्नो स्थिति बलियो बनाएका छन् । रुसी जनता पश्चिमाविरुद्धको युद्धमा अस्तित्वको संघर्षमा रहेको मान्यता पुटिनले स्थापित गरिदिएका छन् । साधारण रुसी नागरिकले युद्ध मन पराउँदैनन्, तर उनीहरूलाई पुटिनले युद्धको बानी पारिदिएका छन् । अभिजात वर्गले अर्थतन्त्रमा आफ्नो पकड बलियो बनाएका छन् र प्रशस्त पैसा कमाइरहेका छन् । पुटिन लड्ने र मर्नेहरूको परिवारलाई सोचेभन्दा बढी क्षतिपूर्ति दिन सक्ने अवस्थामा छन् ।

पुटिनको रणनीतिका अगाडि कीभको मुड अँध्यारो छ भन्ने कुरामा दुईमत छैन । युक्रेनमा युद्धको माहोल बिस्तारै फेरिएर आन्तरिक राजनीतिक खेल शुरू हुन थालेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका सबैभन्दा वरिष्ठ जनरल भ्यालेरी जालुज्नी कमजोर बनेका छन् । आन्तरिक सर्वेक्षणले भ्रष्टाचार घोटाला उच्च भएको देखाएको छ भने जेलेन्स्की आगामी निर्वाचनमा पुन: अनुमोदन हुने प्रयासमा राजनीतिक जोड घटाउ गरिरहेका छन् ।

पश्चिमा सरकारहरू युक्रेनप्रति पहिलाजत्तिकै प्रतिबद्ध रहेको दाबी गर्छन् । तर कतिपय सर्वेक्षणले यसमा शंका रहेको दाबी गरेका छन् । अमेरिकामा बाइडेन प्रशासनले ६० अर्ब डलरभन्दा बढीको कोष जारी गर्न कंग्रेससँग संघर्ष गरिरहेको छ । अर्को वर्ष चुनावी अभियान शुरू हुनेछ ।

अमेरिकी सहयोग थप सुस्त हुँदै जाँदा युरोपले थप डरलाग्दो सम्भावनाका लागि तयारी गर्नुपर्छ । तर युरोपका नेताहरू सबै जिम्मेवारी बाइडेनले लिनुपर्छ जस्तो गरिरहेका छन् ।

युरोपेली युनियनले युक्रेनलाई ५६ बिलियन डलर दिने वाचा गरेको छ तर हंगेरी र जर्मनीको आन्तरिक अर्थतन्त्रमा देखिएको गडबडीले त्यो अहिले रोकिएको छ ।

यही डिसेम्बरमा ईयूले युक्रेनको सदस्यताका लागि वार्ता शुरू गर्न तयार रहेको संकेत गर्नुपर्ने हो । तर धेरैको विश्वास छ कि यो प्रक्रिया अघि बढ्ने छैन । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युरोप थकित भएको भन्दै दिएको अभिव्यक्ति अहिले चर्चामा छ ।

युरोप यदि साँच्चिकै थकित भएको हो भने त्यो एक विपत्ति हुनेछ । २०२५ सम्ममा युद्ध कसरी चलाउने भन्ने तनावले पुटिनलाई समात्न शुरू गर्न सक्छ । नागरिकलाई सेनामा जबर्जस्ती भर्ती गराउनु, मुद्रास्फीति र सामाजिक खर्चमा विचलन आउनुले रूसी जनता पुटिनप्रति थप क्रुद्ध हुन सक्छन् । तैपनि उनको शासन ढल्ने आशा गर्नुको कुनै अर्थ छैन । उनी वर्षौंसम्म सत्तामा रहन सक्छन् र यदि उनी यसै गरी सत्तामा रहिरहे भने उनले युद्धको थप चेतावनी दिन सक्छन् ।

उनले आफ्नो देशलाई युरोपबाट अलग गरेका छन् र देशका उद्यमी व्यवसायीहरूलाई निर्वासनमा पठाएर गल्ती गरेका छन् । युद्धविना उनको शासनको खोक्रोपना बाहिर आउनेछ । यो उनले प्रस्टसँग बुझेका छन् । 

त्यसकारण युरोपले आफ्नो सुरक्षाका लागि मुख्य दीर्घकालीन खतराको रूपमा पुटिन रहेको यकिन गर्नुपर्छ र त्यसका लागि योजना बनाउनुपर्छ । रूस पुन: सशस्त्र हुनेछ । पुटिनसँग लडाईंको अनुभव छ । युरोपले आफ्नो सुरक्षाका लागि पुटिनले आफ्नो कमजोरी स्वीकार्न सक्ने गरी योजना योजना बनाउनुपर्छ ।

द इकोनोमिस्टको प्रिन्ट संस्करणमा प्रकाशित विश्लेषण लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् । सं ।

salt training

कमेन्ट गर्नुहोस्