
काठमाडौं, १६ असोज — साध्वीलाई बलात्कार गरेको अभियोगमा कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमकी प्रियपात्र हनीप्रीत अहिले चर्चामा छिन् ।

उनीमाथि राम रहीमलाई सजाय सुनाएको दिनमा पञ्चकुलामा दंगा भड्काएको आरोपमा प्रहरीले खोजिरहेको छ । उनी अहिले फरार छिन् ।
सोझी र लजालु हनीप्रीत एक सामान्य परिवारमा जन्मेकी हुन् । उनको जन्म हरियाणको फतेहाबादमा सन् १९८० मा भएको थियो । उनको खास नाम प्रियंका तनेजा हो ।
फतेहाबादस्थित डीएभी स्कूलकी एक शिक्षिकाले बताएअनुसार, प्रियंका अति नै लजालु थिइन् र पढ्नमा तेज थिइनन् ।
दश कक्षासम्मको पढाइ डीएभीमा सकेपछि प्रियंका सिरसाको डेरामा रहेको विद्यालयमा भर्ना भएकी थिइन् ।
राम रहीमको मुख्य कार्यालय सिरसास्थित डेरा ७५० एकडमा फैलिएको छ । त्यहाँ विद्यालयदेखि लिएर अस्पतालसम्म अनेकौं विलासी सुविधाहरू छन् । यो डेराको स्मार्ट सिटी हो ।
एक दिन राम रहीम किशोरीहरूलाई आशीर्वाद दिनका लागि विद्यालय पुग्दा उसको नजर प्रियंकामा प–यो ।
त्यसपछि सन् २००९ मा उसले प्रियंकालाई धर्मपुत्री बनायो । त्यसो त राम रहीमको अमनप्रीत र चमनप्रीत दुई छोरी अनि जसमीत छोरा छन् ।
डेरामा आएपछि राम रहीमले प्रियंकालाई हनीप्रीत इन्सा नाम दिएको थियो ।
हनीप्रीतले डेरासँग जोडिएका कैयौं कार्यक्रम पूरा गर्ने जिम्मेवारी लिएकी थिइन् ।
उमेरको भिन्नता निकै भएपनि राम रहीम र हनीप्रीतबीच निकटता बढ्दै गयो ।
हनीप्रीत बाहिर कतै नजाओस् भनेर राम रहीमले उसका लागि डेराभित्रै अत्याधुनिक जिम र ब्युटी पार्लर समेत बनाइदियो ।
राम रहीमको ग्ल्यामरबाट प्रभावित हनीप्रीत पनि उसको साथमा छायाँजस्तै बस्न थालिन् । डेराका मानिसहरूका अनुसार, उनी राम रहीमसँग लगभग २४ घन्टा नै सँगै हुन्थिन् ।
डेराको एक अनुयायी परिवारका छोरा विश्वास गुप्तासँग हनीप्रीतको विवाह पनि राम रहीमले नै गराएका थिए । तर यो विवाह धेरै चलेन र उनीहरूको छिट्टै पारपाचुके भयो ।
विश्वास गुप्ताका अनुसार, उनीहरूको बिहे बाहिर लोकलाई देखाउन मात्र थियो । हनीप्रीतले त बाबासँग पहिल्यै सम्बन्ध जोडिसकेकी थिइन् ।
त्यसपछि सन् २०११ मा विश्वास गुप्ताले पञ्जाब र हरियाणा कोर्टमा मुद्दा हालेर राम रहीमको कब्जाबाट आफ्नी पत्नी हनीप्रीतलाई मुक्त गराउन माग गरेका थिए ।
गुप्ताले राम रहीममाथि हनीप्रीतसँग अवैध सम्बन्ध राखेको आरोप पनि लगाए ।
एजेन्सी