
किभ–रुसले युक्रेनको राजधानी किभसहित युक्रेनका विभिन्न शहरमा शुक्रवार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो ।
किभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन् ।
युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँचवटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन् ।
खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, ‘शत्रुले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त शहरमा आक्रमण गरेका छन् । खार्किभमा १० वटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन् ।’ सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ ।
दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।
‘शत्रुको अर्को आक्रमणको परिणामस्वरूप, एक अग्लो भवनमा क्षति पुगेको छ,’ मेयर गेन्नाडी ट्रुखानोभले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आक्रमणपछि लागेको आगो तत्काल नियन्त्रणमा लिइएको छ ।’
क्रेमलिनले मङ्गलवार युक्रेनी आक्रमणले क्रिमियाको कब्जामा रहेको फियोडोसिया बन्दरगाहमा रहेको एक युद्धपोतमा क्षति पुगेको स्वीकार गरेपछि युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रहरूले रूसी नौसेनाका लागि ठूलो धक्का भएको बताएका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा आफ्नो वायु सेनाले नोभोचेरकास्क अवतरण गर्ने जहाजमाथि आक्रमण गरेको बताएका छन् ।
उनले भने, ‘रुसी रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘रूसको ठूलो अवतरण जहाजमा भएको क्षतिबारे विस्तृत विवरण’ दिनुभएको छ ।’
रुसको रक्षा मन्त्रालयले उक्त जहाजलाई निर्देशित हवाई क्षेप्यास्त्रले क्षति पुर्याएको जनाएको छ ।
युक्रेनको सेनाले पूर्वी क्रिमियाली बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरी रूसी नौसैनिक जहाज ध्वस्त पारेको जनाएको छ ।
बिहीवार जेलेन्स्कीले युक्रेनका लागि उपलब्ध हतियारको अन्तिम बाँकी प्याकेज जारी गरेकोमा संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिएका छन् ।
जेलेन्स्कीले किभको मुख्य समर्थक अमेरिकाको नीतिमा कुनै पनि परिवर्तनले युद्धको क्रममा कडा प्रभाव पार्न सक्छ ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म राष्ट्रपति जो बाइडन, अमेरिकी संसद् र अमेरिकी जनताप्रति २५ करोड अमेरिकी डलरको सैन्य सहायता प्याकेजका लागि धन्यवाद दिन्छु ।’
‘युक्रेन र युरोपमा मात्र होइन, संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न हामीले जारी रुसी आक्रमणको जवाफ दिइरहनुपर्छ,’ उनले भने ।