
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाले शुक्रबार मध्याह्न मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
मन्त्री ज्वाला नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत हुन् ।
जलेको गाडीको इतिहास
'बा २ झ ५८६१ नम्बरको गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हाम्रो (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)मा हस्तान्तरण भएको हो,' मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, ' यो ल्यान्ड क्रुजर प्राडो गाडी हो ।'
जाप्निज कम्पनी टोयोटाको उक्त गाडी खानेपानी मन्त्रालयको नाममा छ । हस्तान्तरण कहिले भयो भन्ने कुराको लिखित अभिलेख भने नरहेको उनले खुलाए ।
पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरीले उक्त गाडी प्रयोग गर्दा निजी नम्बर प्लेट हालेर चुनाव प्रचार प्रसारमा दुरुपयोग गरेका थिए ।
मन्त्री चौधरीलेबा २ झ ५८६१ नम्बरको रातोनिलो नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बर प्लेट राखेर चुनावमा दुरुपयोग गरेको आरोप लागेको थियो ।

खानेपानी मन्त्रालयका सूचना अधिकारी टेकनाथ दाहालका अनुसार उक्त गाडी मेलम्ची खानेपानी आयोजनाको हो ।
'उक्त गाडी चलाउने ड्राइभरबाट बुझ्दा खानेपानी मन्त्री उमाकान्त चौधरी हुँदा उहाँले मेलम्चीको गाडी झिकाएर चढ्नुभएको थियो,' दाहालले लोकान्तरसँग भने, 'त्यसपछि राम्रो गाडी हो भने चढ्न सकिन्छ कि भनेर तत्कालीन प्रधानमन्त्रीले झिकाउनुभयो, तर चढ्नुभएन ।'
प्रधानमन्त्री कार्यालयमा रहेको गाडी अहिलेको यातायात मन्त्री प्रकाश ज्वालाले छानेर लिएको उनले खुलाए ।

खानेपानी मन्त्रालयमा त्यस गाडीको बिल बुक स्टोर शाखामा रहे पनि लिखित केही अभिलेख नरहेको उनले बताए ।
'हामीले त्यस गाडीको विषयमा स्टोर शाखामा पनि बुझ्न लगायौं । तर, त्यहाँ कुनै लिखित अभिलेख नै छैन,' उनले थपे, 'गाडीको बिल बुक हुन सक्ने भनिए पनि अहिले बिल बुक समेत भेटिएको छैन । शायद, मेलम्ची खानेपानी विकास समितिमा केही अभिलेख हुन सक्छ ।'
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जैकी अहमद अन्सारीसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
जलाइएको सरकारी गाडीको बिलबुक नवीकरण भए/ नभएको, इन्स्योरेन्स भए/नभएको सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय दुवै बेखबर छन् ।
