वाशिंगटन,१६ असोज– उत्तरकोरियासँग परमाणु परीक्षण रोक्ने विषयमा वार्ता गर्नु समय बर्बादी मात्रै रहेको वार्तामा संलग्न विदेशमन्त्री रेक्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

प्योंगयांग र वाशिंगटनबीच छलफल भइरहेको खबर बाहिर आएसँगै ट्रम्पले ट्वीट गरे ‘ आफ्नो उर्जा बचाउनु रेक्स, यसबीचमा हामीले जे गर्न जरुरी छ त्यो गर्छौं ।
रेक्स टिलरसनले उत्तर कोरियासँगको वार्तालाई लिएर शनिवार बयान दिएका थिए । उनले भने ‘दुई देशबीच प्रत्यक्ष संवाद भइरहेको छ ।’ किम जोङ योङ प्रशासनले यस विषयमा निकै कम चासो दिएको उनले बताए ।
अहिले यी दुई देशबीच एकअर्का विरुद्ध आलोचना गर्ने प्रवृत्ति जारी छ ।
अमेरिका चाहन्छ उत्तर कोरियाले आफ्नो सम्पूर्ण हतियार कार्यक्रम बन्द गरोस् तर उत्तर कोरियाले निरन्तर मिसाइल परीक्षण गरिरहेको छ । यस बाहेक उत्तर कोरियाले छोटो प्रकृतिको हाइड्रोजन बम समेत परीक्षण गरेको बताइएको छ ।
उत्तर कोरियाका अनुसार उक्त हाइड्रोजन बम लामो दुरीको क्षेप्यास्त्रमा समेत जडान गर्न सकिनेछ ।
आइतवार डोनाल्ड ट्रम्पले किम जोङलाई लक्षित गर्दै भने ‘ मैले विदेशमन्त्री रेक्सलाई भनेको छु , लिटिल रकेटम्यानसँग वार्ता गर्नु भनेको समयको बर्बाद मात्रै हो ।
ट्रम्पले किम जोङलाई सानो रकेट लिएको एक व्यक्तिका रुपमा चिनाउँछन् । तर ट्रम्पले ‘हामीले जे गर्न सक्छौं त्यो गर्छौं’ भनेको आशय भने प्रष्ट भएको छैन् ।
ट्रम्पको यस कुरालाई एक सिनियर अमेरिकी अधिकारीले स्पष्ट पार्दै रोयटयर्सले जनाएको छ ‘उत्तर कोरियाले अहिले निकै तनाव पैदा गरिरहेको छ, राष्ट्रपति ट्रम्पलाई यो लाग्दैन कि उत्तर कोरियासँग यस अवस्थामा वार्ता गर्न सम्भव छ । ’