०४ साउन २०८३, सोमबार

मन्त्रीले ज्यान जोगाएर भाग्नु सामान्य घटना होइन : अजयबाबु सिवाकोटी

पुस १३, २०८०
काठमाडौं
मन्त्रीले ज्यान जोगाएर भाग्नु सामान्य घटना होइन : अजयबाबु सिवाकोटी

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले कुशासनबाट रिसाएका नागरिक मन्त्रीको गाडी तोडफोडसम्मको घटनामा उत्रिनु सामान्य विद्रोह नभएको बताएका छन् ।

सरकारका मन्त्रीहरूको कार्यसम्पादनबारे समीक्षा गर्न ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नागरिकमा चरम वितृष्णा देखिएकाले यस्तो घटना भएको बताएका हुन् ।

‘असोजको बैठक यता व्यक्तिगत रुपमा घुमेका २२ जिल्लाका स्थानीय नागरिक र पार्टी कार्यकर्तासँगको अन्तरक्रियाका क्रममा मैले पाएको साझा कुरा भनेको आम नागरिक व्यवस्थासँग भन्दा पनि व्यवस्था परिवर्तन गरेर अवस्था बदल्न नसक्ने नेतासँग रिसाएका छन्। नागरिक सबैभन्दा बढी कुशासनका कारण रिसाएका छन्।​​ हाम्रै कार्यालय भन्दा केही किलोमिटर पर भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड मात्र होइन आगजनी भएको छ’, सिवाकोटीले बैठकमा भने, ‘मन्त्री ज्यान जोगाएर भागे पनि २ आन्दोलनकारीको सरकारी गोली लागेर ज्यान गयो । रिसाएका नागरिक यो तहको विद्रोहमा उत्रनु सामान्य कुरा होइन। आम नागरिकमा सरकार र सरकारी निकायमा पुगेकाहरू भ्रष्टाचार गर्नै पुगेका हुन् भन्ने बुझाइ व्याप्त छ।

प्रत्येक हप्ता जस्तो आउने भ्रष्टाचारका नयाँ काण्डले आम नागरिकलाई झन् धेरै चिढ्याएको पनि सिवकोटीले बताएका छन् ।

‘भ्रष्टाचार चरम सीमामा रहेको बुझाई बढ्दै छ। प्रत्येक हप्ता जसो आउने भ्रष्टाचारका नयाँ नयाँ काण्डहरूले यो आम बुझाइलाई थप मलजल गरेको छ। सत्तामा पटक पटक भएका नाताले उनीहरूले यो कुशासनको कारक हामीहरू जस्तै पटक-पटक सरकारमा पुगेका दलहरूलाई ठानिरहेका छन्’, उनले भनेका छन्, ‘तर पटक-पटक सरकारको नेतृत्व गर्ने मौका पाउँदा र सरकारका विभिन्न मन्त्रालय र निकायहरूको नेतृत्व गर्न पाउँदा पनि न हामीले आफूले गरेको कामको प्रचार गर्न सक्यौ न भविष्यप्रति थप आशा जगाउने गरि भरोसा दिलाउन सक्यौं ? अझै पनि पुरानै सोच र शैलीमा नागरिकलाई मूफतको मालु सम्झिरहेका छौं।’​​​

एनसेल, टेरामक्स, स्टक एक्सचेन्ज, सहकारी, सुनकाण्ड जस्ता अनेक काण्डहरू सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुँदा हातमुख जोर्न संघर्षरत नागरिकहरु सरकारको आरती उतारेर नबस्ने पनि उनले बताएका छन् । 

‘सुशासनले भन्दा पनि नयाँ नयाँ काण्डहरुले भ्रष्टाचारका पुराना काण्डहरुलाई ओझेलमा पार्दै गएको छ। संचारमाध्यममा आएका काण्डहरुलाई मात्र समेट्ने हो भने पनि औंलामा गन्न गाह्रो छ। सबै काण्ड शिर्ष नेतृत्व र उनका संरक्षीतहरुकहाँ गएर टुंगिन्छ भन्ने बुझाई आम नागरिकमा व्याप्त छ।​

छानबिनका लागि बनाइएका आयोग या समिति काण्डहरुलाई विषयान्तर गरेर नागरिकको आँखामा धुलो हाल्नका लागि हो भन्ने भाष्य जबरजस्त स्थापित हुँदै गएको छ’ उनले भनेका छन्, ‘वीर अस्पतालमा अक्सिजन किन्न पैसा छैन, सय वर्षदेखि विरामीलाई खुवाउँदै आएको खाना खोसिएको छ। पहिलाको लाहुर अहिलेको रसिया भएको छ। ५०९६० लाख तिरेर नागरिक डंकी रुट हुँदै अमेरिका जानेको लाइन छ।

राज्य सञ्चालकहरूले यसैगरी विश्वास गुमाउँदै गएको अवस्था छ। आर्थिक घाटाको परिपूरण होला तर आम नागरिकमा सरकार र राज्यका सञ्चालकहरू प्रति गुम्दै गएको विश्वासको संकटको परिपूरण कसरी हुन्छ यो बैठकले पहिल्याउनु पर्छ।’

salt training

कमेन्ट गर्नुहोस्