
नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला संरक्षण र पुनः निर्माणपश्चात नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गरेका हुन् ।
गरुड दल गणले संरक्षण र पुनः निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालन अब बुटवल उपमहानगरपालिकाले गर्नेछ।
किल्ला हस्तान्तरणपश्चात् नगर प्रमुख खेलराज पाण्डेयले जीतगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताए।
उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पुरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए।
‘यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु’, प्रमुख पाण्डेयले भने।
प्रमुख पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जीतगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्। उनले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको बताइन्।
कार्यक्रममा बोल्दै इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जीतगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताए।
बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ।
जीतगढीमा विसं. १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।