
राष्ट्रपति रामचन्द्र पौडेलले जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्रको रुपमा विकास गर्न जोड दिएका छन् । जीतगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउँदै उनले यसको संवर्द्धन र प्रवर्द्धनमा जोड दिएका हुन् ।
नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिकमहत्वका क्षेत्रलाई समेत एउटै सर्किटमा जोड्नुपर्ने उल्लेख गरे । तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्रहुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्मका क्षेत्रलाई जोडेर पर्यटनको विकास गर्न सकिने उनले राष्ट्रपति पौडेलले बताए । नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई जीतगढी हस्तान्तरण कार्यक्रमअन्तर्गत शुक्रवार आयोजित समारोहमा राष्ट्रपति पौडेलले किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवर्द्धनका लागि जोड दिए ।
बुटवल उपमहानगरसहित, प्रदेश तथा संघीय सरकारले ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा चासो दिन आग्रह गरे ।
जीतगढीको विकाससँगै प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्नुपर्नेमा जोड दिए । यसैगरी बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटीको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे । जीतगढी किल्ला नेपाली सेनाले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउँदै राष्ट्रपति पौडेलले यसको संरक्षणमा जोड दिए ।
राष्ट्रपति पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जीतगढी किल्ला बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका हुन् । बुटवल उपमहानगर वडा नम्बर १ मा रहेको जीतगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरलाई हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै जीतगढी किल्ला किल्ला बुटवल उपमहानगरको मातहतमा आएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि हराइसकेको जीतगढी किल्लालाई संरक्षण गरी यसको उत्थान गरिएको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई १८७२ वैशाख ७ गतेका दिन जीतगढी किल्लामा पराजित गरेको थियो ।