
आफ्नो खेल जीवनको सम्भवत अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका डेभिड वार्नरले अर्धशतक बनाएका छन् । सिड्नीमा भएको आफ्नो अन्तिम टेस्ट म्याचमा वार्नरले शनिवार अर्धशतक बनाएका हुन् ।
पाकिस्तानविरुद्धको उक्त खेलमा मात्र १३० रनको लक्ष्य पछ्याएको घरेलु टोली अष्ट्रेलियाले ८ विकेटको जीत निकालेको छ ।
वार्नरले ५७ रनको अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियाले सिरिज ३–० ले क्लिन स्वीप गर्न सफल भएको हो ।
सन् १९९५ पछि पाकिस्तानले अष्ट्रेलियाको मैदानमा टेस्ट म्याच जित्न सकेको छैन । अन्तिम टेस्टमा समेत पाहुना टोली पाकिस्तानको खराब प्रर्दशनले निरन्तरता पायो ।
३७ वर्षीय वार्नरले यसअघि नै एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन् । तर अष्ट्रेलियन राष्ट्रिय टोलीले आवश्यकता महसुस गरेमा आफूले सन्यास फिर्ता लिनसक्ने पनि उनले स्पष्ट पारेका छन् ।
वार्नरसहितको अष्ट्रेलियन टोलीले सन् २०२१–२३ मा विश्व टेस्ट च्याम्पियनसिप जितेको थियो । यस्तै उनका नाममा २ वटा एकदिवसीय र एउटा टी–२० विश्वकप पनि छन् ।
गत नोभेम्बरमा मात्रै वार्नरसहितको टोलीले भारतलाई उसकै घरेलु मैदानमा हराएर छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।