०३ साउन २०८३, आइतबार

राष्ट्रिय सभा उम्मेदवारी : पार्टीभित्रको भागबन्डा नमिल्दा कांग्रेस बैठक सर्‍यो

पुस २२, २०८०
काठमाडौं
राष्ट्रिय सभा उम्मेदवारी : पार्टीभित्रको भागबन्डा नमिल्दा कांग्रेस बैठक सर्‍यो
फाइल फोटो

​राष्ट्रिय सभा सदस्यको उम्मेदवार तय गर्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ४ बजे बस्ने भएको छ । 

सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताको बैठक नसकिएपछि कार्यसम्पादन समितिको बैठक ४ बजेलाई राखिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

‘उता सभापतिको निवासमा शीर्ष नेता बस्नुभएको छ । यसैले १ बजे भनिएको बैठक अलि ढिलो हुने भयो।  अब ४ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्छ’, उनले लोकान्तरसँग भने । 

आजै बिहान सत्ता गठबन्धनबीचको सहमतिपछि कांग्रेसले राष्ट्रिय सभामा १० सिट पाउने समझदारी बनेको थियो ।

यही १० सिटमा कसरी उम्मेदवार तय गर्ने विषयमा अनौपचारिक छलफलका लागि सभापति देउवाले धुम्बाराहीस्थित निवासमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला र रमेश लेखकसँग छलफल गरेका हुन् । शेखर र गगन पक्षले १० मध्ये ४ सिटमा दाबी गरेको छ । 

कांग्रेसमा सातवटै प्रदेशबाट दर्जनौं दाबेदारको उम्मेदवारी सिफारिस भएको छ । यसैले कुन प्रदेशबाट कसलाई उम्मेदवार बनाउने भन्ने सकस पनि कांग्रेसलाई परेको छ । 

केही दिन अगाडि बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले यस अघि अवसर नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने घोषणा गरेको थियो । निर्वाचनमा पटक-पटक पराजय भएकालाई उम्मेदवार नबनाउन कांग्रेसमा ठूलो दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्