
काठमाडौं, १७ असोज — अचूक निशाना लगाउन सक्ने इराकी बन्दुकधारी अबु तहसीन अल साल्ही आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सँगको भिडन्तमा मारिएका छन् ।

तर मारिनुअघिसम्म साल्हीले ३०० भन्दा बढी आतंकवादीहरूलाई मारेका थिए । आफ्नो निशानाका लागि संसारभरि शेख अफ स्नाइपर्स र हक आई नामबाट प्रसिद्ध साल्हीले सन् १९७३ को अरब इजरायल युद्धमा सद्दाम हुसेनका साथ मिलेर पनि लडेका थिए ।
शनिवार साल्हीलाई बसरा शहरमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा हजारौंले उनलाई श्रद्धाञ्जलि दिए ।
शुक्रवार उत्तरपश्चिम इराकको हवीजामा आईएससँग भिड्न गइरहेको बेलामा साल्ही र उनका साथीहरूमाथि आईएस आतंकवादीहरूले अचानक आक्रमण गरेका थिए ।
त्यतिखेर भएको भारी गोली हानाहानमा फसेर साल्हीको मृत्यु भयो । शिया सैनिकहरूको समूह हसद अल शाबीका प्रवक्ता अहमद अल असादीले साल्हीको मृत्युको पुष्टि गरे ।
साल्हीले दिनको चारजना आईएस आतंकवादीलाई मार्ने गरेको दाबी गरिन्छ ।
एक वर्षअघि सार्वजनिक भएको एक भिडियोमा साल्हीले स्नाइपरका रूपमा आफ्नो करीयरका बारेमा कुरा गरेका थिए । अर्को भिडियोमा उनले आईएस आतंकवादीलाई मारेको पनि देखिएको थियो ।
एजेन्सी